मतदाता नामावली दर्ताको समय थप्नेबारे प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी छन्।
शुक्रबार प्रधानमन्त्री कार्कीले समय थप्नेबारे छलफल गरेको सचिवालयले जनाएको छ।
मतदाता नामावली दर्ता गर्ने समय आइतबारसम्म मात्रै छ। तोकिएको समयावधि नजिकिएसँगै मतदाता नामावलीमा दर्ता गर्नेको चाप पनि बढेको हो।
त्यसैलाई मध्यनजरमा राखेर समय थप्नेबारे प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन्।
‘मतदाता नामावली दर्तामा बढ्दो उत्साह र चापलाई ध्यानमा राखी निर्वाचन आयोगसँग म्याद थपका विषयमा छलफल भएको छ। आयोग यस विषयमा सकारात्मक रहेको छ,’ सचिवालयले जनाएको छ।
आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाँच दिन थप्न सकिने जानकारी दिएका छन्।
बिहीबारदेखि निर्वाचन आयोगले दर्ता गर्नका लागि राष्ट्रिय परिचय पत्रमार्फत पनि गर्न मिल्ने व्यवस्था गरेको छ।
जसकारण सर्भरमा समेत समस्या आएका छन्।
‘साथै इन्टरनेट सर्भरमा देखिएका समस्याहरू समाधान गर्न सम्बद्ध निकायहरू सक्रिय रूपमा काम गरिरहेको छन्,’ सचिवालयले भनेको छ।