नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्कने भएका छन्।
सभापति देउवानिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार सभापति देउवा दम्पती आज स्वदेश फर्कने कार्यक्रम छ।
‘उहाँहरू आज बेलुकी स्वदेश फर्कनु हुन्छ,’ ती नेताले भने।
सभापति देउवा दम्पती थप उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा देउवा दम्पतीमाथि प्रदर्शनकारीहरूले आक्रमण गरी घाइते बनाएका थिए।
सभापति देउवाले असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा पुगेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
त्यसयता एक महिना खड्काको अध्यक्षतामा केन्द्रीय समिति बैठक गरे पनि महाधिवेशनबारे सहमति जुटेको छैन।
अब सभापति देउवा फर्केपछि यसबारे सहमति जुट्ने बताइएको छ।
केन्द्रीय समिति बैठक शनिबार दिउँसो २ बजे बस्दैछ।