नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले १५ वटा कम्युनिस्ट घटक मिलेर नेकपा बनेको बताएका गरेका छन्।
आज धनगढीमा भएको कार्यक्रममा बोल्दै उनले एमालेका नेताहरूलाई पनि एकतामा आउन आग्रह गरे।
संयोजक प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकताको परिणाम भएको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ।
यसले देशभर नयाँ ऊर्जा पैदा गरेको बताएका प्रचण्डले भने, ‘एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी कार्यकर्तालाई पनि यस पार्टीमा एकताबद्ध हुन आग्रह छ। अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्रीय—भन्नुपर्ने आवश्यकता छैन। सबै नेपाली कम्युनिष्ट। यही भावना अनुसार पार्टीको नाम राखिएको हो।’
उनले देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत एकता अपरिहार्य भएको बताए।
आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै उनले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गरेका छन्। आगामी निर्वाचन नै देशलाई स्थिरता दिने मार्ग भएको उनले बताए।
प्रचण्डले विगतमा संसद विघटनमा संलग्नहरूले अहिले पुनःस्थापनाका कुरा उठाउनु बेमौसमको बतास जस्तै भएको टिप्पणी गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गर्दै उनले 'देशलाई उल्टो बाटोमा लैजाने दम्भी र अहंकारी प्रवृत्तिलाई जनता आफैले सबक सिकाउने बेला आएको' बताए।