गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्याल र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच एक घन्टा वार्ता भएको छ।
शुक्रबार साँझ साढे ५ बजे प्रसाईंसहितको समूहसँग गृहमन्त्री अर्यालले वार्ता गरेको मन्त्रालय स्रोतले बतायो। उक्त वार्ता पौने ७ बजेसम्म चलेको थियो।
मंसिर ७ गते दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। प्रहरीले प्रसाईंलाई उनले दिएका अभिव्यक्तिहरू समाज भड्काउने खाली भएको बताउँदै पक्राउ गरेको थियो। तर सर्वोच्चले उनको पक्राउलाई कानुन सम्मत बताउन नमिल्ने बताएको थियो।
उनी रिहा भएपछि पहिलोपटक गृहमन्त्री अर्यालसँग भेटवार्ता भएको हो।
‘भेटमा मन्त्रीज्यूले कुनै पनि प्रदर्शन गर्नुपरेमा सरकारसँग सहकार्य हुनुपर्यो। प्रदर्शन शान्तिपूर्ण हुनुपर्छ भनेर मन्त्रीज्यूले भन्नुभयो। हिंसाको बाटो सह्य नहुने र अहिंसात्मक बाटोमा लाग्न भनेर मन्त्रीज्यूले अनुरोध गर्नुभएको थियो,’ गृहमन्त्री निकट स्रोतले सेतोपाटीसँग भन्यो।
त्यस्तै गृहमन्त्री अर्यालले प्रसाईंको समूहलाई राजनीतिक रूपमा अगाडि बढ्न समेत अनुरोध गरेका थिए। प्रसाईंको नेतृत्वमा कम्तिमा ५ जना सदस्यहरू बैठकमा सहभागी थिए।
एक घन्टा भएको वार्तामा दुर्गा प्रसाईंले पनि आफूहरू राजनीतिक रूपमा अगाडि बढ्न सहमति नै जनाएको स्रोतले बतायो।
‘तपाईंहरूका मागहरू राजनीतिक रूपमा ल्याउनुस् भनेर गृहमन्त्रीको अनुरोधपछि दुर्गा प्रसाईंजीले पनि आफूहरू राजनीतिक रूपमा अगाडि बढ्न तयार नै रहेको बताउनुभएको थियो। सरकारले दमन गर्न भएन, अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन भएन भन्ने कुरा राख्नुभयो,’ स्रोतले भन्यो।
यही सन्दर्भमा प्रसाईं पक्राउ परेको विषयमा गृहमन्त्री अर्यालले अभिव्यक्ति स्वतन्त्रताका नाममा बोल्न पाइने सीमाबारे गाइडलाइन तयार पारेको बताएका थिए।