अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका उच्च सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियाले युक्रेन र इरानसम्बन्धी गोप्य सैन्य सूचना पत्रकारहरूलाई दिएको स्वीकार गरेका छन्।
पेन्टागनको आन्तरिक अनुसन्धान प्रतिवेदनका अनुसार उनले करिब एक वर्षसम्म दुई फरक सञ्चारमाध्यमका पत्रकारलाई गोप्य सूचना दिएका थिए।
रक्षा मन्त्री पिट हेगसेथले यही आरोपमा यसै साता सिल्भियालाई पदबाट हटाएका थिए।
उनी अमेरिकी सेनाको संयुक्त सैन्य प्रमुखको कार्यालयमा रणनीति, योजना तथा नीतिसम्बन्धी विभागका प्रमुख थिए।
उक्त पदमा रहेर उनले संयुक्त सैन्य प्रमुख र राष्ट्रपतिका लागि सैन्य योजना तयार पार्ने तथा समन्वय गर्ने जिम्मेवारी सम्हाल्दै आएका थिए।
अमेरिकी अनलाइन एक्सियसले सिल्भियाले सन् २०२५ जुनदेखि नै पत्रकारलाई सूचना दिन थालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेको जनाएको छ । त्यसबेला पेन्टागनले पत्रकारको पहुँचसम्बन्धी कडा नियम लागू गर्नुअघि नै उनले सूचना चुहाउन थालेको अनुसन्धानमा उल्लेख छ।
उनले पत्रकारहरूसँग गोप्य सन्देश आदानप्रदान गर्ने एप सिग्नलमार्फत कुराकानी गरेका थिए।
एकपटक भने भर्जिनियाको आर्लिङ्टनस्थित सिल्भर डाइनरमा पत्रकारसँग भेटेरै सूचना दिएका थिए। पेन्टागनमा ती पत्रकारको प्रवेश अनुमति रद्द भएपछि बाहिर भेट्नुपरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
त्यस भेटमा सिल्भियाले गोप्य प्रतिवेदन अध्ययन गर्दा बनाएका टिपोटका आधारमा युक्रेनलाई अमेरिकाले दिइरहेको सहयोगबारे पत्रकारलाई मौखिक जानकारी दिएका थिए।
अनुसन्धान प्रतिवेदनले सिल्भियाले इरानसम्बन्धी सूचना पनि चुहाएको आरोप लगाएको छ। उनले सिग्नलमा आएको एउटा सन्देश मेटाउने क्रममा सम्बन्धित पत्रकारसँगको पूरै कुराकानी हटाएको बताएका थिए।
तर, अमेरिकी अधिकारीहरूले उनले जानाजान कुराकानी मेटाएको हुन सक्ने आशंका गरेका छन्। त्यसरी मेटिँदा सिग्नलमा सुरक्षित रहेका सन्देश र फोनकलको विवरणसमेत हराएको प्रतिवेदनमा उल्लेख छ।
सिल्भियाले पेन्टागनको नेतृत्वको आलोचना गर्दै प्रकाशित अर्को समाचारमा उल्लेख गरिएका २० अधिकारीमध्ये आफू पनि एक भएको स्वीकार गरेको प्रतिवेदनमा जनाइएको छ।
अनुसन्धानका क्रममा उनले चारपटक पोलिग्राफ परीक्षण दिएका थिए।
अमेरिकी अधिकारीका अनुसार ती सबै परीक्षणमा उनी असफल भएका थिए।
झुट बोलेको वा नबोलेको पत्ता लगाउन पोलिग्राफ परीक्षण गरिन्छ रूपमा चिनिन्छ। प्रतिवेदनमा उनले पत्रकारसँगको सम्पर्कबारे सोधिएका प्रश्नको जबाफ दिन सहयोग गरेको र व्यक्तिगत फोन पनि अनुसन्धानका लागि उपलब्ध गराएको उल्लेख छ।
पेन्टागनका प्रवक्ता सिन पार्नेलले संवेदनशील सूचनाको सुरक्षा गर्न आवश्यक कारबाही गरिएको बताएका छन्।
उनले यस विषयलाई थप कानुनी कारबाहीका लागि न्याय मन्त्रालयमा पठाइएको जानकारी दिएका छन्।
तर, सिल्भियामाथि सैनिक अदालतमा नभई सामान्य नागरिक अदालतमा मुद्दा चलाउने तयारी किन गरिएको हो भन्ने स्पष्ट भएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारले सिल्भियाको बर्खास्तीबारे सोध्दा उनीमाथि थप समस्या आउने बताएका थिए।
उनले पत्रकारसँग सूचना चुहाउने अधिकारीहरू खोजिरहेको पनि बताएका थिए। जवाफ दिने क्रममा ट्रम्पले सिल्भिया पुरुष सैनिक अधिकारी भए पनि महिलाका रूपमा सम्बोधन गरेका थिए।
सिल्भियालाई बर्खास्त गरिएको भोलिपल्ट संयुक्त सैन्य प्रमुखको कार्यालयले उनको ३२ वर्षको सैनिक सेवाको प्रशंसा गर्दै बिदाइ गरेको थियो।
तर, बिहीबार उक्त वक्तव्य फिर्ता लिँदै कार्यालयले थप समीक्षा गर्दा वक्तव्यले घटनाको पूर्ण अवस्थालाई नसमेटेको जनाएको छ।
यस विषयमा अर्को विवाद पनि देखिएको छ।
एक्सियससँग कुरा गरेका एक अमेरिकी अधिकारीले कार्यवाहक सेना सचिव एडम टेल र उनको कार्यालयले सिल्भियाको समर्थनमा वक्तव्य जारी गराउन संयुक्त सैन्य प्रमुखको कार्यालयलाई दबाब दिएको दाबी गरेका छन्। तर, सेना सचिवको कार्यालयले उक्त आरोप अस्वीकार गर्दै यसलाई झुटको अभियान भनेको छ।
हेगसेथले पेन्टागनको नेतृत्व सम्हालेपछि गोप्य सूचना चुहाएको आरोपमा उच्च अधिकारीमाथि कारबाही गर्दै आएका छन्। गत वर्ष पनि उनले आफ्ना निकट सहयोगी तीन जनालाई सूचना चुहाएको आरोपमा हटाएका थिए। त्यसबेला पनि पोलिग्राफ परीक्षण गरिएको थियो।
पेन्टागनले पत्रकारको पहुँचमा समेत कडाइ गरेको छ।
मन्त्रालय परिसरमा पत्रकारलाई कर्मचारीको साथबिना हिँड्न रोक लगाइएको छ भने प्रेस कार्यालयलाई समेत पत्रकारको पहुँचबाहिर राखिएको छ। यी नियमको विरोधमा गत वर्ष केही सञ्चारमाध्यम र रक्षा मामिला हेर्ने पत्रकारले आफ्नो प्रवेश अनुमति फिर्ता गरेका थिए।
गत जुलाईमा पेन्टागनले न्याय मन्त्रालयसँग मिलेर गोप्य सूचना चुहाउने अधिकारी पहिचान गर्न संयुक्त कार्यदल बनाएको थियो।
सञ्चारमाध्यमलाई अनधिकृत रूपमा गोप्य सूचना दिने व्यक्तिमाथि कानुनी कारबाहीलाई प्राथमिकता दिन पनि मन्त्रालयले निर्देशन दिएको थियो।