बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको अन्त्येष्टिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी भएका छन्।
बुधबार ढाकास्थित शेर-ए-बांग्ला नगरमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको थियो।
मन्त्री शर्माले नेपाल सरकारका तर्फबाट दिवंगत बेगम जियाको पार्थिव शरीरमा माल्यार्पण गर्नुका साथै अन्त्येष्टि स्थलमा बेगम जियाका छोरा र बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेट गर्दै शोक तथा समवेदना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दिउँसो परराष्ट्रमन्त्री शर्माले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक डा. मोहम्मद युनुससँग शिष्टाचार भेट गरे। उक्त अवसरमा उनले प्रधानमन्त्री सुशीला कार्कीबाट पठाइएको समवेदना सन्देश औपचारिक रूपमा हस्तान्तरण गरे।
प्रधानमन्त्री कार्कीले बेगम जियाद्वारा नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा तीन कार्यकालका दौरान खेलेको महत्त्वपूर्ण भूमिकालाई 'अविस्मरणीय' भन्दै श्रद्धाञ्जलि व्यक्त गरेकी छन्।
भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार, ऊर्जा, कनेक्टिभिटी, पर्यटन तथा जनस्तर आदान–प्रदानजस्ता क्षेत्रमा सहयोग बढाउने विषयमा पनि छलफल भएको बताइएको छ।
यसअघि मन्त्री शर्माले बंगलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहीद हुसैनसँग पनि भेट गरी व्यक्तिगत समवेदना पत्र हस्तान्तरण गरेका थिए।
परराष्ट्रमन्त्री शर्मा बिहीबार दिउँसो काठमाडौं फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।