भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउन लागिएको बताएका छन्।
'उहाँलाई चिठी काट्दैछौं अब,' आयोग अध्यक्ष कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग भने, 'उहाँलाई बोलाउने क्रममा छौं हामी।'
उनले तत्कालीन गृहमन्त्री रहेका रमेश लेखकको बयान भने सकिइसकेको बताए।
'उहाँको बयान सकिइसकेको हो,' उनले भने।
जाँचबुझ आयोगको समयसीमा तीन महिनाको भए पनि काम नसकिएकाले थप एक महिना म्याद थप भएको छ। आयोगका कामका विषयमा सरकारसँग कुरा भएको पनि बताए।
'काम कहाँ पुग्यो भन्ने विषयमा कुराकानी भयो। अब एक महिना म्याद थपेको छ। त्यही भित्र बुझाउँछौं हामी,' उनले भने।
एमाले अध्यक्ष ओलीले आयोगमा बयान नदिने बताउँदै आएका छन्। यसबारे सञ्चारकर्मीहरूले सोधेका थिए, 'उहाँ आउनुभएन भने के हुन्छ?'
जबाफमा कार्कीले भने, 'त्यो कुरा त्यति बेलै थाहा हुन्छ।'