नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन्।
विशेष महाधिवेशनबारे जानकारी दिन उनीहरूले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
नेता सुवास पोखरेलका अनुसार शुक्रबार पत्रकार सम्मेलन गर्ने तयारी छ।
‘विशेष महाधिवेशन आयोजनाबारे भोलि काठमाडौंमा पत्रकार सम्मेलन आयोजना हुँदैछ,’ उनले भने।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाए पनि विशेष महाधिवेशन अघि बढेको थिएन। यसबीचमा १५ औं महाधिवेशन कार्यतालिका ल्याए पनि त्यसअनुसार अधिवेशनहरू भएन।
त्यसैले पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन आयोजना गर्ने तयारी छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आयोजना गर्न लागेका हुन्।
विधानको धारा १७ को २ मा हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ। उक्त अधवि पुस २८ गते सकिँदैछ, त्यसअघि नै विशेष महाधिवेशन गर्ने गरी भृकुटीमण्डपमा हल बुकिङलगायत काम भएका छन्।