नेपाली कांग्रेसको विशेष महाधिवेशन हलमा बुधबार फरमुल्लाह मन्सुरले एउटा रोचक कथा सुनाएका थिए।
'हाम्रो मधेसमा एउटा कहावत छ' भनेर कथा हाल्न सुरू गरेका मन्सुरले कथामा सर्प र भ्यागुतोको प्रसंग उल्लेख गरे।
भएछ के भने, सर्पले भ्यागुतोलाई आफ्नो आहारा बनाउन अँठ्याइसकेको थियो। सर्पको मुखमा परिसकेको भ्यागुतोका लागि ज्यान बचाउने कुनै उपाय थिएन। त्यस्तो बेला पनि आफ्नो नजिकै उडिरहेको फट्याङ्ग्रालाई आहारा बनाउन सकिन्छ कि भनेर त्यो भ्यागुतोले मुख बाउन छोडेको थिएन।
उनले यो कथा सुनाउँदै शेरबहादुर देउवा लगायतका कांग्रेस नेताहरूतिर आफ्नो प्रहार सोझ्याएका थिए।
कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा आएर नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढिसकेका बेला देउवा पक्ष भने जसरी हुन्छ रूपान्तरणको आवाज दबाउने, पार्टीलाई आफ्नै कब्जामा राख्ने र एमालेसँग गठबन्धन गरेर चुनावमा जाने प्रयासमा लागिरहेको सन्दर्भमा कांग्रेसका यी अनुभवी नेताले यो कथा सुनाएका थिए।
नभन्दै देउवा समूहले फरमुल्लाह मन्सुरसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेर कांग्रेस अझै पनि आफ्नै कब्जामा रहेको सन्देश दिएको थियो।
पार्टीको यही निर्णयपछि नेतृत्व चयन प्रक्रियामा गएको विशेष महाधिवेशनले उनै मन्सुरलाई सहमहामन्त्रीमा निर्विरोध चयन गरेको छ।
लामो समय पार्टी संस्थापनमा उभिएका मन्सुरले यसपटक कांग्रेसभित्र नयाँ पुस्तालाई बलियो साथ दिएर आफू परिवर्तनको पक्षमा रहेको सन्देश दिए।
कांग्रेसभित्र पुस्तान्तरणको बहस चर्को बनेका बेला गगन र विश्वको समूहसँग जोडिएका नेतामध्ये सबभन्दा लामो र उतारचढावपूर्ण राजनीतिक यात्रा तय गरेका नेता हुन्, मन्सुर। कांग्रेसको संगठनदेखि संसद हुँदै सत्तासम्मको लामो अनुभव सम्हालिसकेका मन्सुर टिम गगनका पदाधिकारीमध्ये सबभन्दा अनुभवी सहमहामन्त्री हुन्।
फरमुल्लाह मन्सुरले २०२८ सालमा भारतको पटना पुगेर नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाबाट पार्टीको सदस्यता लिएका थिए।
पञ्चायती व्यवस्थाको त्यो कठोर समयमा राजनीतिक पहिचान बोक्नु नै जोखिमको विषय हुन्थ्यो। त्यही जोखिमपूर्ण वातावरणमा मन्सुरको राजनीतिक जीवन सुरू भएको थियो।
उनी २०३४ सालमा बारा जिल्ला कांग्रेसका उपसचिव बने भने २०३६ सालमा सचिवको जिम्मेवारी पाए।
संगठन निर्माणमा खटिँदै जाँदा उनले कलैया बजारमा जुत्ता पसल र अखबार पसलसमेत सञ्चालन गरे। जीविकोपार्जन र राजनीतिक संघर्ष सँगसँगै अघि बढाए।
पञ्चायत कालमै उनी दुई वर्ष भारत प्रवास बस्न बाध्य भएका उनी नेपाल फर्केपछि पटक पटक पक्राउ परे।
बहुदलीय व्यवस्था पुनर्स्थापनापछि उनी २०४८ देखि २०५७ सालसम्म बारा जिल्ला कांग्रेसका सभापति रहे। त्यस अवधिमा उनले संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
२०५६ सालमा उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए। त्यही निर्वाचनसँगै मन्सुरको राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेश भयो।
त्यसपछि २०५७ सालयता उनी निरन्तर कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय छन्।
मन्सुर दोस्रो संविधानसभाका सदस्य पनि हुन्। त्यस बेला संविधान निर्माण प्रक्रियामा सहभागी हुँदै उनले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेका थिए। २०७४ सालमा गठन भएको शेरबहादुर देउवाको मन्त्रिपरिषदमा उनी श्रम तथा रोजगार मन्त्री भएका थिए।
केन्द्रीय सदस्य हुँदै १४औं महाधिवेशनयता सहमहामन्त्रीको जिम्मेवारीमा पुगेका उनलाई विशेष महाधिवेशनले उही जिम्मेवारीमा दोहोर्याएको छ।
उनी अघिल्लो महाधिवेशनमा मुस्लिम कोटातर्फ देउवा समूहको उम्मेदवारका रूपमा प्रतिस्पर्धामा थिए। मन्सुरले २७७६ मत प्राप्त गर्दा शेखर कोइराला समूहका शेख वकिलले १८७१ मत पाएका थिए।
मन्सुरलाई 'शक्तिका पुजारी' भन्ने आलोचकहरू पनि बारामा प्रशस्त छन्। कहिले कोइराला समूहको निकट रहेका उनी देउवा शक्तिमा आएपछि उनका विश्वासपात्र रहे। पछिल्लो समय उनले विशेष महाधिवेशन माग गर्दै गगन–विश्व समूहको साथमा रहेर सक्रिय भूमिका खेले।
त्यसैको परिणामस्वरूप देउवा पक्षले केही अघिसम्म आफ्नो साथमा रहेका मन्सुरसहित गगन र विश्वलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
यी पनि पढ्नुहोस्: