नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा सधैं जित्दै आएको र आफ्नो राजनीतिक आधारभूमिका रूपमा विकास गरेको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्।
थापासँगै यसअघि दुई पटक कांग्रेसबाट र एक पटक स्वतन्त्र उम्मेदवारी दिएर जितेका अमेरशकुमार सिंहले यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका छन्।
त्यस्तै, नेकपा एमालेबाट रविसिंह कुशवाहा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डा. रगनिस राय यादव र जनता समाजवादी पार्टी नेपालबाट रामेश्वरराय यादव प्रतिस्पर्धामा छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि गगनले सर्लाहीबाट उम्मेदवारी दिने चर्चा थियो। तर आखिरमा उनी काठमाडौंमै अडिए। यसपालि भने उनी काठमाडौं–४ को आफ्नो पकड क्षेत्र युवा उम्मेदवार सचिन तिमल्सेनालाई छाडेर सर्लाही–४ पुगेका छन्।
जेनजी आन्दोलनपछिको तरल राजनीतिक अवस्थामा गगनले एक्कासि आफ्नो निर्वाचन क्षेत्र बदल्नुलाई कतिपयले चुनौतीका रूपमा लिएका छन् भने कतिपयले काठमाडौं असुरक्षित भएपछि सुरक्षित क्षेत्र खोज्दै मधेस झरेको टिप्पणी पनि गरेका छन्।
राजनीतिक शक्ति सन्तुलनका हिसाबले सर्लाही–४ को अवस्था कस्तो छ त?
सर्लाही–४ लाई कांग्रेसको परम्परागत गढ मानिन्छ। २०४८ देखि २०५६ सम्म भएका तीन निर्वाचन जितेका महन्थ ठाकुरले नेपाली कांग्रेस छाडेसँगै यो क्षेत्रमा अमरेशकुमार लड्दै आएका थिए। उनले २०७० र २०७४ को निर्वाचन कांग्रेसबाट जितेका हुन् भने २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन्।
२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सर्लाही–४ बाट तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपुजन राय विजयी भएका थिए।
२०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र सहितको सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार उम्मेदवार बनेका थिए। नागेन्द्रले १८ हजार २ सय ५३ मत ल्याउँदा सिंहले २० हजार १७ मत ल्याएर विजयी भए।
गठबन्धनमा रहे पनि माओवादीका शिवपुजन रायले आफ्नी छोरी मधुमाला कुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए। यादवले १४ हजार ६ सय २२ मत ल्याएकी थिइन्।
चौथोमा रहेका जनता समाजवादी पार्टीका उम्मेदवार राकेश मिश्रले ५ हजार ८ सय १३ मत मात्र पाएका थिए।
समानुपातिकतर्फ भने कांग्रेस पहिलो भएको थियो। कांग्रेसले १६ हजार २८ मत ल्याउँदा जनमत पार्टीले १२ हजार ५ सय मत पाएको थियो। जबकि, जनमत पार्टीका प्रत्यक्ष उम्मेदवार रामबाबु रायले ३ हजार ४ सय मत मात्र ल्याएका थिए।
यो क्षेत्रमा समानुपातिकतर्फ माओवादीले तेस्रो धेरै मत पाएको थियो। उसले ९ हजार ७ सय मत ल्याउँदै गर्दा एमालेले ९ हजार ४ सय ७१ मत ल्याएको थियो।
स्थानीय स्तरमा कुन पार्टीको कति राजनीतिक शक्ति छ भनेर हामीले यो क्षेत्रमा रहेका वडामा प्रमुख पार्टीले पाएको मत केलाएका छौं।
यो क्षेत्रमा बलारा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका, गोडैता नगरपालिका, बसबरिया गाउँपालिकाका वडा नम्बर १,२ र ३ पर्छन्।
त्यस्तै, बरथहवा नगरपालिकाका १, २, ३, ४, १३, १४ र १५ वडा पर्छन् भने विष्णु गाउँपालिकका १ देखि ४ नम्बर वडा पनि यही निर्वाचन क्षेत्रमा पर्छन्।
यो क्षेत्रमा पर्ने बलारा नगरापलिकाका मेयर र उपमेयर दुवै तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेकपा) ले जितेको थियो। दोस्रोमा लोकतान्त्रिक समाजवादी नेपाल थियो भने तेस्रोमा नेपाली कांग्रेस थियो।
रामनगर गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो। दोस्रोमा कांग्रेस थियो।
धनकौल गाउँपालिका भने अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो। यहाँ दोस्रोमा माओवादी केन्द्र थियो।
त्यस्तै, गोडैता नगरपालिकाका मेयर र उपमेयर दुवै लोसपाले जितेको थियो भने दोस्रोमा कांग्रेस थियो।
तीन वटा वडा पर्ने बसबरिया गाउँपालिका जसपाले जितेको थियो। यसमा पनि कांग्रेस दुवै पदमा दोस्रो भएको थियो।
जहाँसम्म ७ वटा वडा यही निर्वाचन क्षेत्रमा पर्ने बरथहवा नगरपालिकाको कुरा छ, त्यहाँ एमालेले मेयर र उपमेयर दुवै जितेको थियो। मेयरमा दोस्रो स्थान माओवादीको थियो भने तेस्रो कांग्रेस भएको थियो। उपमेयरमा भने कांग्रेस दोस्रो र माओवादी तेस्रो थियो।
चार वटा वडा पर्ने विष्णु गाउँपालिकमा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो भने दोस्रो जसपा भएको थियो।
अब यो निर्वाचन क्षेत्रअन्तर्गतका ५१ वटा वडामा प्रमुख पार्टीले पाएको मत विश्लेषण गरौं।
यहाँ सबभन्दा धेरै वडा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १९ वडा जित्दा माओवादी केन्द्रले १२ वटा वडा जितेको थियो। त्यस्तै, एमालेले १०, लोसपाले ८ र जसपाले २ वटा वडा जितेको थियो।
यी पार्टीका वडाध्यक्षहरूले पाएको मतमा पनि कांग्रेसकै धेरै छ। कांग्रेसका वडाध्यक्षहरूले पाएको मत २३ हजार १ सय ४३ छ। वडाध्यक्षहरूको मतमा माओवादी केन्द्र दोस्रो छ। उसले १८ हजार ५ सय २४ मत पाएको थियो।
वडामा लोसपाका उम्मेदवारहरूले पाएको मत जोड्दा १४ हजार २ सय २७ हुन्छ।
त्यस्तै, एमालेका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत ११ हजार ४ सय ७९ थियो। जसपाले पाएको मत ६ हजार ७ सय ८६ छ।
वैशाखमा भएको स्थानीय तह निर्वाचनको यो परिणामभन्दा मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत फरक पर्यो।
स्थानीय तह निर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीका वडाध्यक्षहरूले २ हजार ३ सय मत ल्याएका थिए भने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ जनमत पार्टीले १२ हजार ५ सय मत ल्यायो।
लोसपाका वडाध्यक्षहरूले स्थानीय तहमा १४ हजारभन्दा बढी मत पाएका भए पनि यो पार्टीले समानुपातिकतर्फ ५ हजार १ सय मत मात्र पायो।
त्यस्तै, माओवादी केन्द्रबाट विजयी वडाध्यक्षहरूले स्थानीय तहमा १८ हजारभन्दा धेरै मत पाएको भए पनि संसदीय चुनावमा यो पार्टीले समानुपतिकतर्फ १० हजार कटाउन सकेन। उसले ९ हजार ७ सय मत मात्र पायो।
एमालेको मत भने धेरै फरक परेको थिएन। स्थानीय तहमा ११ हजार ४ सय मत पाएको एमालेले समानुपातिकतर्फ ९ हजार ४ सय ७१ मत ल्याएको थियो।
स्थानीय तहको तुलनामा कांग्रेसको पनि समानुपातिकतर्फ मत घटेको थियो। स्थानीय तहमा २३ हजार मत कटाएको कांग्रेसले समानुपातिकतर्फ १६ हजार मात्र ल्याएका थियो।