सरकारले संसद छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू छलफलमा जुट्न लागेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दल नेता भीष्मराज आङ्देम्बेले बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने गरी विपक्षी दलहरूको बैठक बोलाएका हुन्।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ।
बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने बताइएको छ।
मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँको राजनीति र सार्वभौम संसद्को अपमान भएको बताएका छन्।
उनले लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न कुनै हालतमा नदिन प्रतिपक्ष प्रतिबद्ध रहेको बताए।
सरकारले दुई अध्यादेश ल्याएपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विरोध जनाएका छन्।