नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वाम एकता आह्वान गरेको छ। सोमबार बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले सामाजिक न्याय, सुशासन र समृद्धिमार्फत समाजवादोन्मुख नेपालको निर्माणका लागि वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
‘यो बैठक राष्ट्रियता र नेपाली जनताका बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिमार्फत समाजवादोन्मुख नेपालको निर्माणका लागि वाम एकतामार्फत कम्युनिष्ट आन्दोलनको पुनर्गठन तथा शान्ति सम्झौताका पक्षधरहरुबीच सहकार्यका लागि आह्वान गर्दछ,’ बैठकले पारित गरेको १९ बुँदे समसामयिक प्रस्तावमा उल्लेख छ।
त्यस्तै देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकजुट भएर अगाडि बढ्न बैठकले सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिलाई आह्वान गरेको ज्वालाले बताए।