बेलायतका प्रधानमन्त्री केयर स्टार्मर चीन पुगेका छन्।
बुधबार अपराह्न उनी बेइजिङ पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विमानस्थलमा चिनियाँ सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको थियो।
स्टार्मर विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी उद्योगी/व्यवसायीहरूलाई लिएर बेइजिङ पुगेका हुन्।
चीनमा सन् २०१८ पछि पहिलोपटक बेलायतबाट प्रधानमन्त्री स्तरीय भ्रमण भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
यो भ्रमणमा बेलायत-चीन व्यापारबारे छलफल गर्ने बताइएको छ।
बेलायती प्रधानमन्त्री स्तरबाट भएको चीन भ्रमणलाई विशेष रूपले हेरिएको छ।
यतिबेला युरोप र उसको मुख्य साझेदार संयुक्त राज्य अमेरिकाबीच सम्बन्धमा उचारचढाव देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड कब्जा गर्ने धम्की, चागोस द्वीपसमूहको सार्वभौमसत्ता मोरिससलाई सुम्पने बेलायतको निर्णयप्रति आलोचना तथा अफगानिस्तान युद्धमा नेटो सहयोगीहरूको भूमिकामाथि टिप्पणी गरेका थिए।
गत शनिबार ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग व्यापार सम्झौता गरे क्यानडामाथि १०० प्रतिशत बिन्दुले भन्सार शुल्क लगाउने चेतावनीसमेत दिएका थिए।
यद्यपि स्टारमरले सम्भावित सुरक्षा जोखिमप्रति सतर्क रहनुपर्ने भए पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले प्रस्तुत गर्ने अवसरलाई बेवास्ता गर्न नसकिने बताएका छन्।
स्टारमरले चीनसँग आर्थिक सम्बन्ध विस्तार गर्दा अमेरिकालाई असन्तुष्ट बनाउनुपर्ने अवस्था नआउने दाबी गरेका छन्। रक्षा, सुरक्षा, गुप्तचर तथा व्यापारलगायत विभिन्न क्षेत्रमा अमेरिका–बेलायतबीचको सम्बन्ध अत्यन्त नजिक रहेको उल्लेख गर्दै उनले दुवै पक्षसँग सन्तुलित सम्बन्ध कायम राख्न सकिने बताए।
चिनियाँ नेताहरूसँग हुने भेटवार्तामा के विषय उठाइने भन्नेबारे स्टारमरले खुलस्त बोलेनन्।
युक्रेन युद्ध अन्त्यका लागि चीनले रूसमाथि दबाब दिनुपर्ने विषयमा छलफल हुन्छ कि हुँदैन भन्ने प्रश्नमा पनि उनले टिप्पणी गर्न अस्वीकार गरेका छन्।
स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ।