अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा यसअघिको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर परमाणु कार्यक्रमबारे इरान वार्ताको टेबुलमा नआए अघिल्लो वर्षको जुन महिनामा भएको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका हुन्।
'इरान छिट्टै वार्ताको टेबुलमा आएर परमाणु सम्झौता गर्छ भन्नेमा आशावादी छौं। समय घर्किसकेको छ। सम्झौता नभए उसले पहिलेको भन्दा धेरै विनाशकारी आक्रमणको सामना गर्नुपर्नेछ,' ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार ट्रम्पले अमेरिकी नौसेनाको एउटा ठूलो विमानबाहक युद्धपोत 'युएसएस अब्राहम लिंकन' इरानतर्फ पठाइसकेका छन्।
यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप सोमबार हिन्द महासागरमा प्रवेश गरिसकेको र इरानको नजिक सरिरहेको भनेर सिएनएनले लेखेको छ।
ट्रम्पले यसलाई अहिलेसम्मको ठूलो र शक्तिशाली नौसैनिक दस्ता भनेका छन्।
सिएनएनले विमानबाहक युद्धपोत र टोली अघिल्लो महिना भेनेजुएलामा पठाइएको भन्दा शक्तशाली रहेको पनि दाबी गरेको छ।
गत महिना १५० वटा भन्दा बढी लडाकू विमान परिचालन गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनकै निवासबाट अमेरिकाले अपहरण गरी न्युयोर्क ल्याएको थियो।
त्यतिबेला अमेरिकाले क्यारेबियन क्षेत्रमा युद्धपोत तैनाथ गरेको थियो।
अहिले इरानतर्फ अघि बढिरहेको युद्धपोत भेनेजुएलामा तैनाथ गरिएको भन्दा शक्तिशाली रहेको भनेर ट्रम्पले दाबी गरेका छन्।
गत वर्ष इरान र इसराइलबीच युद्ध चलिरहँदा अमेरिकाले अपरेसन मिडनाइट ह्यामर सञ्चालन गरी इरानका तीनवटा आणविक भट्टीहरूमा शक्तिशाली बम खसालेको थियो।
त्यतिबेला इरानले आणविक कार्यक्रमहरू पुनः सञ्चालन गर्नै नसक्ने गरी त्यहाँका भट्टीहरू नष्ट गरिएको दाबी अमेरिकाले गरेको थियो।
तर गुप्तचर निकायहरूले अझै पनि इरानले परमाणु कार्यक्रमहरू गोप्य ढंगले सञ्चालन गरिरहेको आशंका गरेका छन्।
फर्दोको भट्टी पहाडको सैयौं मिटर गहिराइमा रहेकाले त्यहाँ गत जुनमा अमेरिकी हमलाबाट पूर्ण रूपमा क्षति नपुगेको हुन सक्ने पनि भनिएको छ। त्यस्तै त्यहाँबाट अत्यावश्यक औजार र परिष्कृत युरेनियम को ठूलो हिस्सा अन्य सुरक्षित स्थानमा सारेको थियो भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले त्यतिबेलै रिपोर्ट सार्वजनिक गरेको थियो।
ट्रम्पले यसपालि जुन महिनाको 'अपरेसन मिडनाइट ह्यामर' भन्दा शक्तिशाली आक्रमण गर्ने धम्की दिएका हुन्।
ट्रम्पको यो धम्की रणनीतिक रहेको भनेर अर्को अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
इरानमा सैन्य हमला गर्ने विकल्पलाई अमेरिकाले गम्भीरतापूर्वक विचार गरिरहेको तर यसको उद्धेश्य त्यहाँ जारी सरकार विरोधी आन्दोलनलाई थप बल पुर्याउनू रहेको भनेर रोयटर्सले लेखेको छ।
इरानमा पछिल्लो समय आर्थिक संकट र सरकारी दमनका कारण ठूला प्रदर्शनहरू भइरहेका छन्।
अमेरिकाले इरानमा जारी विद्रोहलाई सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई अपदस्त गर्ने माध्यम बनाउन खोजेको भनेर रोयटर्सले लेखेको छ।
'बाह्य सैन्य दबाब र आन्तरिक विद्रोहको तालमेलले इरानी शासनलाई घुँडा टेकाउन वा परिवर्तन गर्न सजिलो हुन्छ भन्ने ट्रम्प प्रशासनलाई विश्वास छ,' एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
ट्रम्पले डिसेम्बरको अन्त्यतिरबाट सुरू भएको प्रदर्शनलाई लगातार उक्साउँदै आइरहेका छन्। इरानभित्रको आन्तरिक मामिला त्यहाँको सरकारले सुल्झाउनु पर्नेमा ट्रम्पले लगातार प्रदर्शनकारीहरूलाई बल पुग्ने गरी अभिव्यक्ति दिइरहेका छन्।
सुरूमा उनले प्रदर्शनकारीहरूमाथि दमन भए उनीहरूलाई बचाउन अमेरिका उपस्थित हुने भनेका थिए। पछि उनीहरूमाथि गोली प्रहार भए इरानी नेतृत्वमाथि अमेरिकाले हमला गर्ने भनेर चेतावनी दिएका थिए।
इरानले भने राष्ट्रपति ट्रम्पको यस्ता अभिव्यक्तिलाई आफ्नो देशको सार्वभौमिकतामाथि हस्तक्षेप भन्दै आक्रमण भए त्यसको जबाफ दिने बताएको थियो।
इरानले अमेरिकामाथि सिधा हमला भन्दा मध्यपूर्वमा रहेको उसका सैन्य अड्डाहरूलाई निशाना बनाउने चेतावनी दिएको थियो।
गत महिनामात्रै इरानको धम्कीपछि ट्रम्पले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाबाट कर्मचारीहरू फिर्ता बोलाएका थिए।
ट्रम्पले युद्धपोत इरानतर्फ अघि बढेको भनेपछि इरानी अधिकारीहरूले पनि त्यसको प्रतिवाद गरेका छन्।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले इरान वार्ताका लागि तयार भए पनि वासिङ्टनले आफ्नो इच्छा जबरजस्ती लाद्न खोजेको आरोप लगाएका छन्।
उनले इरानी सेनाले कुनै पनि आक्रमण भएमा अमेरिकी आधार शिविर र इसराइललाई निशाना बनाउने चेतावनी दिएका छन्।
इरानी विदेश मन्त्रालयले पनि आफ्ना फौजहरू ट्रिगरमा औंला राखेर तयारी अवस्थामा रहेको बताएको भनेर सिएनएनले लेखेको छ।