नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुनर्स्थापनाको लागि सर्वोच्च अदालतमा दर्ता भएका रिट माथिको सुनुवाइमा अदालतले ढिलाइ गर्न नहुने बताएका छन्।
सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरूद्धमा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट हालेका थिए।
तर अदालतले उक्त रिटको पेसी नतोक्दा सुनुवाइ हुन सकेको छैन।
ज्ञवालीले राजनीतिक दलहरू प्रतिनिधिसभा सदस्यको निर्वाचनमा केन्द्रित भई रहँदा अदालतमा दर्ता भएको संसद पुनर्स्थापनाको मुद्दाको टुंगो छिटो लाग्नुपर्ने बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नं. १ बाट नेकपा एमालेबाट उम्मेदवार बनेका ज्ञवालीले बिहीबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै संसद पुनर्स्थापनाको मुद्दाको फैसला छिटो हुनुपर्ने बताए।
‘सर्वोच्च अदालतमा कतैबाट दबाब आएको छ कि न्यायाधीशहरूलाई ढुक्कसँग आफ्नो विवेक प्रयोग गर्ने वातावरण नबनेको हो कि, जे जस्तो भए पनि अदालतले यति गम्भीर विषयको निर्णयमा ढिलाइ गर्न हुँदैन,’ उनले भने।
ज्ञवालीले संसद विघटनको निर्णय सम्पूर्ण तरिकाले असंवैधानिक रहेको उल्लेख गर्दै संवैधानिक र कानुनी हिसाबले संसद पुनर्स्थापना हुनुपर्ने बताए।
‘सर्वोच्च अदालतको संवैधानिक इजलासले विगतमा स्थापित गरेका पटक पटकका नजिरले पनि भदौ २७ गते जुन अवस्थामा प्रतिनिधिसभा विघटन भयो त्यो वैधानिक थियो भन्ने कुरा कतैबाट पनि पुष्टि गर्ने आधार छैन,’ ज्ञवालीले भने।
ज्ञवालीले ३५ दिनपछि हुने निर्वाचनका लागि पनि सरकारले शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन नसकेको दाबी गरे।
उनले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदी बन्दी र लुटिएका हतियार बाहिर राखेर सरकारले निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था गर्न नसक्ने बताए।
‘जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका ५ हजारभन्दा बढी कैदीबन्दी र लुटिएका ७ सय हाराहारी आधुनिक हतियार अहिले पनि बाहिर छन्, बाहिर रहेका कैदी र हतियारको दुरूपयोग गरेर उम्मेदवारहरूको सुरक्षा, मतदान स्थलको सुरक्षामा चुनौती खडा हुनसक्छ सरकार यसतर्फ गम्भीर बन्न सकेको छैन,’ उनले भने।
ज्ञवालीले सरकारले यी विषयलाई हलुका ढंगले लिएको र सुरक्षाको लागि पर्याप्त तयारी समेत नगरेको बताए।
पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सामाजिक सञ्जालको व्यापक दुरूपयोग गरी ‘नायक’ भाष्य सृजना गरिएकोले यसले पनि मुलुकलाई निकास नदिने दाबी गरे।
‘अहिलेको चुनाव ‘पपुलारिजम र अल्गोरिदम’ खेल भइरहेको छ,’ गाउँघरको धरातल फरक छ तर, सामाजिक सञ्जालमा हावा प्रचार भइरहेका छन्, ज्ञवालीले पपुलारिजमको वेभले देशलाई प्रयोगशाला मात्र बनाउने बताए।
‘अहिले सामाजिक सञ्जालमार्फत जसरी कसैलाई ‘नायक’ बनाउने गरी लहर चलाइएको छ, यसले मुलुकलाई निकास दिँदैन,’ उनले भने।
ज्ञवालीले आफू गुल्मीका जनताको सुख दुखमा सधैँ साथमा रहँदै आएको उल्लेख गर्दै जेन जी युवापुस्ताले उठाएका सुशासन र देशलाई स्थिरता दिने मुद्दालाई आत्मसाथ गरी निर्वाचनमा होमिएको बताए।
उनले गुल्मीका दुई वटै निर्वाचन क्षेत्रमा एमालेले जित निकाल्ने दाबी गरे।