नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसपालि दाङ–२ जित्ने विश्वास पार्टीको रहेको बताएका छन्।
दाङ–२ मा अघिल्लो पटक महासचिव पोखरेल झीनो मतान्तरले पराजित भएका थिए।
शुक्रबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दाङ–२ मा अघिल्लो पटकको नतिजा नदोहोरिने बताएका हुन्।
‘विगतमा राजनीतिक दलहरूका बीचमा गठबन्धन भयो। दाङ जिल्ला फेरि यस्तो जिल्ला हो, जहाँ माओवादीको पनि प्रभाव क्षेत्रका रूपमा रहेको, नेपाली कांग्रेसको परम्परागत प्रभाव क्षेत्र रहेको हो। त्यस्तो जिल्लामा प्रमुख पार्टीहरूका बीचमा गठजोठ रहँदा खेरी पनि नेकपा एमालेले २०० भन्दा कम मतमा चुनाव हारेको अवस्था हो,’ उनले भने, ‘अहिले राजनीतिक दलहरू एक्ला एक्लै चुनाव लडेको अवस्था र अर्कोतर्फ विगतमा शंकर पोखरेलले चुनाव हार्दा खेरि दाङ जिल्लाले धेरै अवसरहरु गुमायो भन्ने कुराको अनुभूति नै दाङ जिल्लामा, अहिलेले दंगाली जनताका बीचमा चर्चाको विषय छलफलको विषय बहसको विषय बनेको मैले महसुस गरेको छु,’ उनले भने।
यसपटकको चुनावमा दंगाली जनताहरू राष्ट्रिय राजनीतिमा दाङको भूमिकालाई स्थापित गर्ने गरि शंकर पोखरलाई जिताउनु पर्दछ भन्ने निष्कर्षमा पुगेको आफूले पाएको उनले बताए।
२०७९ सालको निर्वाचनमा महासचिव पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएका थिए।