प्रधानमन्त्री सुशीला कार्कीले भुइँमान्छे उपेक्षित भइरहँदा लोकतन्त्रको आत्मा सुक्दै जाने बताएकी छन्।
प्रजातन्त्र दिवसका अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सत्ताको स्वादमा विलासी जीवन बिताइरहनेहरूको हैकम चलिरहे लोकतन्त्रको आत्मा सुक्दै जाने बताएकी हुन्।
'जहाँ भुइँमान्छे उपेक्षित छ, सीमान्त नागरिक अपमानित छन् र सत्ताको स्वादमा बिलासी जीवन बिताइरहनेहरुको हैकम चलिरहन्छ, त्यहाँ लोकतन्त्रको आत्मा सुक्दै जान्छ । अझ भन्दा सीमान्तकृत, पहुँचहीन र वञ्चित समुदायमाथि अन्याय, विभेद र बहिष्करण कायम राखेर लोकतन्त्र जीवित रहन सक्दै सक्दैन,' उनले भनिन्।
प्रधानमन्त्री कार्कीले प्रजातन्त्र दिवस मनाइरहँदा २००७ सालको उपलब्धि ०१७ सालमा किन खोसियो, २०३६, २०४६, २०६२/६३ र फेरि २०८२ मा पनि जनता सडकमा उत्रिनुपर्यो भन्ने कुराको समीक्षा गर्नुपर्ने बताइन्।
'किन यसपटक कलिला जेनजी युवाहरूले पनि गोलीको पर्वाह नगरी आवाज उठाउनुपर्यो?,' उनले भनिन्, 'उत्तर स्पष्ट छ—हामीले लोकतन्त्रको नारा भट्यायौँ, संविधानमा अक्षरका सुन्दर बान्की सजायौँ तर त्यसको लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गरेनौँ, गर्नै चाहेनौं।'
प्रधानमन्त्री कार्कीले सिद्धान्तमा लोकतन्त्र आए पनि व्यवहारमा विभेदलाई नै प्रश्रय दिइरहेको बताइन्। संविधानमा समानता लेखेर संरचनामा असमानतालाई नै जोगाइराखेको, एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोत–साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्त्य हुन नसक्नु त्यसका कारण भएको पनि बताइन्।
यस्तै अपसंस्कृतिले राज्यप्रति विश्वास हराउने र विद्रोह जन्माउने बताइन्।
'यहाँ त्यही भयो। बजेट वितरणमा भएको मनोमानीलाई सम्झिऊँ। समानुपातिक निर्वाचन प्रणालीबाट प्राथमिकतासाथ लाभ पाएकाहरुको सूची केलाऊँ। छात्रवृत्ति र रोजगारीमा गरिएको काखापाखा हेरौं। अनि यहाँ विद्रोह नभएर के हुन्छ?,' उनले भनिन्।