नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन्।
प्रतिज्ञा पत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमीकमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए।
‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौं,’ उनले भने, 'हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ।'
सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने उनको प्रतिज्ञा छ ।
'चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुँदैन हुन दिँदैनौं। यो बदलिएको कांग्रेसको संकल्प हो,' सभापति थापाले भने।
उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने विश्वास दिलाएका छन्।