राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन्।
उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका हुन्।
उनले पार्टी विधिअनुसार नचलेकाले बसिरहनुको औचित्य नभएकाले राजीनामा दिएको बताए।
'पार्टी जसरी चल्नुपर्ने हो त्यसरी चलेको छैन। स्थापना कालदेखि काम गरेका साथीहरूको अवमूल्यन भयो। अहिले विभिन्न पार्टीका मान्छेहरूलाई आर्थिक आधारमा अवसर दिइयो,' उनले भने।
हुमागाईं यसपालि काभ्रे-२ बाट उम्मेदवारका आकांक्षी थिए। रास्वपाले यसपालि बदन भण्डारीलाई काभ्रे-२ बाट उम्मेदवार बनाएको छ।
अघिल्लो पटक त्यहीँबाट हुमागाईं उम्मेदवार थिए। त्यतिबेला एमालेका गोकुल बाँस्कोटसँग चुनाव लडेका हुमागाईंले १०,५७३ मत ल्याएका थिए।
यसपालि प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।
यसका साथै केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लंघन आन्तरिक लोकतन्त्रमाथि प्रहार, प्रदेश तथा तल्लो तहको आवाजको बेवास्ता, शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न र पार्टीको संरचनागत विकृति र निजी स्वार्थ रहेको उनको आरोप छ ।
बुधबार मात्रै मधेसकी संस्थापक सभापति ममता शर्माले रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गरेकी थिइन्।