राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न बनेको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने वाचा गरेको छ।
बिहीबार रास्वपाले कर्णालीको सुर्खेतबाट आगामी निर्वाचनका लागि सार्वजनिक गरेको १०० वटा वाचाको दोस्रो नम्बरमै जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने उल्लेख गरेका छन्।
'२०८२ को भाद्र २३ र २४ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव र सिफारिसलाई कार्यान्वयन गर्नेछौं,' वाचा पत्रको दोस्रो बुँदामा भनिएको छ।
जेनजी आन्दोलनपछि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो।
उक्त आयोगले छानबिन सकिसकेको छ। प्रतिवेदन भने चुनाव पछि मात्रै सार्वजनिक हुने भएको छ।
सरकारले माघ अन्तिममा आयोगको म्याद २५ दिन थप गरेको थियो।