नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा सरकार गठन भएको पाँच वर्षभित्र अर्थतन्त्रको आकार एक सय खर्बको पुर्याउने घोषणा गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले बिहीबार घोषणा पत्र सार्वजनिक गरेको थियो।
घोषणापत्रमा एमालेले अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने र त्यसका लागि ७ देखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर बढाउने घोषणा गरेको हो।
यसको आधारमा उसले कृषि उत्पादकत्व बढाउने, विद्युत उत्पादन क्षमता बढाउँदै खनिज तथा औद्योगिक उत्पादन र भौतिक पूर्वाधारमा फड्को मार्ने भनेको छ।
यसरी पाँच वर्षमा एक सय खर्ब र दस वर्षमा २०० खर्बको अर्थतन्त्र निर्माण गर्ने एमालेले घोषणा गरेको छ।
एमालेले प्रतिव्यक्ति आय पनि पाँच वर्षमा ३ हजार अमेरिकी डलर पुर्याउने घोषणा गरेको छ। सरकार बनेको दुई वर्षभित्र सबैको घरमा खानेपानी पुर्याउने वाचा एमालेले गरेको छ।
घोषणापत्रमा एमालेले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउने घोषणा गरेको छ।
एमालेले उच्च आर्थिक वृद्धिबाट वार्षिक चार लाख र सूचना प्रविधिको क्षेत्रसहित लक्षित रोजगार कार्यक्रमबाट थप एक लाख गरी वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ।
उद्योग क्षेत्रको विस्तार गरेर कूल ग्रार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने, पर्यटन पूर्वाधारको विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा गर्दै पाँच वर्षमा पर्यटकको आगमन दोब्बर बनाउने घोषणापत्रमा उल्लेख छ ।
पाँच वर्षभित्र थप तीन लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने, सबै स्थानीय तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमा नै उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ। एक लेनका सडकलाई दुई लेनको बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।