राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सांसदबाट निकाल्ने व्यक्ति दाङमै रहेको बताएका छन्।
शुक्रबार घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति उनले ती योजनाकार यसपालि दाङबाटै चुनाव लडिरहेको पनि बताए।
'चितवनका जनताले दोस्रोपटक सबैभन्दा बढी मत दिएर पठाएका थिए। सुशासन कायम र भ्रष्टाचारीलाई कोच्दै गरेको सरकारलाई छलछाम गरी, बिचौलियासँग मध्यरातमा सम्झौता गरेर संसदबाट निकाल्ने कलाकारहरू यहीँ छन्,' उनले भने, 'उठेका होलान् यसपटक पनि। तिनले सुन्ने गरी भन्न चाहन्छु, संसदबाट निकाल्यौ, जनताको मनबाट निकालेर देखाऊ।’
सभापति लामिछानेले त्यतिबेला आफूले धेरै काम गर्न नपाएको र यसपालि गरेर देखाउने बताए।
'मलाई अप्ठ्यारो आँखाबाट आँसु झार्दै जनताले मेरो पक्षमा हस्ताक्षर गरेका थिए। त्यो विश्वास र भरोसा कहिल्यै बिर्सने छैन,' उनले भने।
दाङ राजनीतिको उर्वर भूमि रहेको र 'षड्यन्त्रकारीहरू' ले यसपटक चुनाव हार्ने दाबी उनले गरे। उनले थारु अधिकारका लागि पनि आफू लड्ने बताएका।
‘थारू जाति होइन, सभ्यता हो जसको सुरूआत दाङमा भएको देखिन्छ। वर्षौंको सभ्यताको संरक्षण कसरी गर्नुपर्छ त्यसको ठेक्का पनि कसैले लिनुपर्दैन। रास्वपालाई थाहा छ,' उनले भने।