नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने वाचा गरेका छन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताका लागि छुट्टै सम्पर्क कार्यालय राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।
उनले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं थाहा पाएर मात्र नहुने भन्दै आफू मधेस बुझ्न र मधेस जान्न सर्लाही आएको पनि बताए।
'नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं थाहा पाएर मात्र हुँदैन। मधेस पनि बुझ्नुपर्छ। म अहिले नेपालको नेतृत्व गर्न, मधेस बुझ्न र मधेसको हुन मधेस आएको हुँ,' थापाले मतदाताको प्रश्नको जबाफ दिँदै भने।
'चुनावको बेला घरघर देखिने अरूबेला नदेखिने सांसददेखि तपाईंहरू थाक्नु भएको छ। तपाईं अब सांसद खोज्दै आउनु पर्दैन, म आफै आउँछु, सर्लाही अब मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय रहन्छ, मेरो टिम रहन्छ, कुनै पनि अप्ठ्यारो पर्दा कुनै युवकले आफ्नो बालाई फोन गर्नु भन्दा ए गगन दाइ भन्ने बनाउन म सर्लाही आएको हो,' उनले अघि थपे।
सो क्रममा थापाले अब कांग्रेस नेतृत्वमा सरकार बनेपछि कुनै पनि नागरिकले कुनै पनि अस्पताल गएर उपचार गर्न खल्तीबाट एक रुपैयाँ तिर्नु नपर्ने अवस्था कांग्रेसले बनाउने बताए।
किसानका समस्याका बारेमा समेत आफू जानकार रहेको भन्दै थापाले उखु किसानका समस्याबारे आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको र छलफल भइरहेको जानकारी गराए।
'काठमाडौं गएर प्रधानमन्त्रीलाई भेटेर उखुको विषयमा मैले कुरा गरिसकेको छु, प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ होला, अब उखुको समस्या मेरो जिम्मा हो,' उनले भने।
उनले हालै सर्लाही क्षेत्र नम्बर ४ मा इन्जिनियररिङ कलेज खोल्ने निर्णय गराएको र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भइसकेको पनि बताए।
'गगन थापाको क्षेत्रमा अब बाटो यस्तो रहँदैन, अस्पताल यस्तो रहँदैन, अहिले निर्वाचन आचारसंहिताका कारण धेरै कुरा भन्न मिल्दैन, अहिले यतिमात्र भन्छु यहाँ सर्लाही क्षेत्र नम्बर ४ मा कुनै साथीले इन्जिनियररिङ कलेज खोल्ने निर्णय गर्नु भएको छ, र किड्नीको उपचार केन्द्र मधेसको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नै बनाउने निर्णय भएको छ,' थापाले थपे।
उनले आफू अहिले मतदातासँग काम गर्ने मौका माग्न आएको बताउँदै अगाडि थपे, 'मलाई काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो लागि हिँडिदिनुस्, २१ गतेपछि तपाईंहरूको जिम्मा म लिन्छु।'
थापाले अगाडि थप्दै भने, 'तपाईंहरू घरघर गएर भन्दिनुस्, के को एमाले?, केको माओवादी?, केको रास्वपा? घर घर गएर भन्दिनुस्, यो पटक कोही उम्मेदवार छैन, यो ठाउँको विकास गर्न गगन थापा आएको छ भनेर भनिदिनुस्, यो त्यो छोडेर काम गर्ने जिम्मा मलाई दिनुस, म हक खोज्न आएको हुँ।'