नेकपा एमालेले निर्वाचन धाँधलीरहित हुने विषयमा आशंका व्यक्त गरेको छ।
शनिबार केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनेमा शंका रहेको बताएका हुन्।
‘मुलुकको जे अवस्था सिर्जना भइरहेको छ, निर्वाचनका गतिविधिहरू जसरी अगाडि बढिरहेका छन्। जेजस्ता घटना व्यवहारहरू प्रदर्शन भइरहेका छन्। त्यसले चिन्तित तुल्याएको छ। र निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले हुन्छ कि हुँदैन भन्नेमा तपाईं हामी सबैलाई अलिकति चिन्तित तुल्याएको छ,’ उनले भने।
शाहीले केन्द्रीय पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलनमार्फत एमालेको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।
‘चुनाव भाँड्नका लागि देशका विभिन्न जिल्लाहरूमा दलहरूको झन्डा-चुनाव चिह्न जलाउने अभियान, अशान्ति फैलाउने कार्यले रास्वपाले चुनाव भाँड्न खोजेको पुष्टि हुन्छ,’ उनले भने।
त्यस्तै, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको तस्बिर अंकित टिसर्टलाई होलीको अवसरमा वितरण गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ। एमालेले यस विषयमा निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ।