राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ३४ वर्ष जनतालाई झुक्याउने राजनीतिक दलहरूलाई यस वर्ष जनताले झुक्याउनुपर्ने बताएका छन्।
शनिबार चितवन क्षेत्र नम्बर २ मा सम्बोधन गर्दै सभापति लामिछानेले यस पटक रास्वपालाई मतदान गर्न अनुरोध गरेका छन्।
‘अंग्रेजीमा टिट फर ट्याट भन्छ। ३४ वर्षसम्म झुक्याए, यस वर्ष उनीहरूलाई झुक्याइदिनु,’ उनले भने, ‘घरमा आउँछन्, यसपटक पनि हामीलाई है भोट भनेर केके भन्छन्। झुटको दोकान खोल्नेलाई मैले के सिकाउन पर्छ र। त्यतिखेर तपाईंले भन्ने के भने तपाईंलाई नै हो भोट भन्दिनुस्। तपाईं नै हो भन्दिनुस्। गर्ने बेला के हो मैले किन भन्नु।’
उनले कुनै राजनीतिक दलले मासुभात खान पैसा दिए, बाँड्न लागेको पैसा, दिएमा लिन पनि मतदातालाई भने।
‘ए बाबा मासुभातको पैसा, बाँड्न गएको पैसा, उसको भए त सम्पत्ति घट्न पर्थ्यो नि। बढेको छ, हाम्रै पैसा हो, खाइदिने नि। हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा खाइदिनुस्, हाम्रो स्कुलमा शिक्षा नदिएर लुटेको पैसा खाइदिनुस्। राम्रो बाटो, पुल, नहर नबनाएको पैसा हो खाइदिनुस्। तर भोट चाहिँ घण्टीमा हालिदिनुस्,’ उनले भने।