केन्द्रीय सुरक्षा समिति बैठकले नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई मधेसमा पछिल्लो समय भएको र हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गर्न खटाउने निर्णय गरेको छ।
शनिबार गृह मन्त्रालयमा बसेको समिति बैठकले एआइजी चतुर्वेदीलाई प्रतिवेदन पेस गर्नका लागि खटाउने निर्णय गरेको प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
उनका अनुसार चतुर्वेदी मधेसतर्फ खटिइसकेका छन्।
पछिल्लो केहीदिन यता रौतहटमा दुई समुदायबीच झडप हुँदै आएको छ। स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश समेत जारी गरेको छ।
‘तराईं क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि सुरक्षाको संवेदनशीलता समेत विश्लेषण गरेर प्रतिवेदन पेस गर्न र त्यो अनुसार कारबाहीको प्रक्रिया अघि बढाउन उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ। सँगसँगै सुरक्षाका संवेदनशील क्षेत्रमा सुरक्षा निकायहरूलाई उच्च पदाधिकारी खटाउन र विश्लेषण सहितको प्रतिवेदन पेस गर्न निर्देशन भएको छ,’ सहसचिव काफ्लेले भने।
रौतहटको घटना र चुनावी प्रचारप्रसारको क्रममा झण्डा जलाउने लगायत गतिविधि हुन थालेपछि गृहले समितिको बैठक बोलाएको हो।
उक्त बैठकमा निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल भएको थियो। त्यस्तै गैरकानुनी गतिविधिलाई कानुनी दायरामा ल्याइसकेको पनि उनले बताए।
त्यसैगरी राजनीतिक दलहरूलाई पनि संवेदनशील हुन र आचार संहिताको पूर्ण पालना गर्नका लागि उनले अनुरोध गरे।