राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन्।
बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजार चोटि विचार गर्नुपर्ने बताए।
लिङ्देनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गरे।
सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङ्देनको चेतावनी छ।
अध्यक्ष लिङ्देनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याए।
निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ।
उनले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पुर्याउन मतदातासँग सहयोग मागे। राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङ्देनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५–६ वर्षभित्रै देशको मुहार फेरिने बताए।
अध्यक्ष लिङ्देनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डको छानबिनमा आफ्नो भूमिका रहेको स्मरण गराए।
उनले भने, ‘मैले हरेक ठाउँमा भन्दै आएको छु कि भोट भनेको शक्ति हो। यो शक्ति हस्तान्तरण गर्ने कुरा हो। त्यसकारणले आफ्नो हात काटेर दिँदाखेरी आफ्नो शक्ति हस्तान्तरण गर्दा खेरी कसलाई दिइराखेको छु भन्ने कुरा हरेक मतदाताले सोच्नुपर्छ। आजसम्म हामीले झुटा आश्वासनमा कहिले केही लिटर पेट्रोलमा, कहिले केही सय, केही हजारमा, जाँडरक्सीमा, माछामासुमा, नातागोतामा अथवा बाउबाजेले बोकी आएको पार्टी भन्नेमै हाल्दै आयौँ। अहिले पनि भोट दिने बेला आएको छ। त्यसमाथि पनि यो भोट विशेष अवस्थामा आएको छ। त्यसकारण यो भोटमा तपाईंले मतदान गर्नुभन्दा अगाडि हजारचोटि सोचेर मात्रै हजारचोटि विचार गरेर मात्रै मतदान गर्नुस् भनेर आएको छु।’
उनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई पनि एकचोटि राप्रपाको चुनाव चिह्न ‘हलो’ मा मतदान गर्न आग्रह गरे।
उनले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी हुन सबैलाई अपिल गरे।–न्युज एजेन्सी नेपाल