नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन रोक्ने प्रयास भइरहेपनि आफूहरू नअल्मलिकन विजयको तयारीमा लागेको बताएका छन्।
आइतबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले विजयको तयारीमा रहेको बताए।
‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन विजयको तयारीमा लाग्छौं,’ उनले भने।
विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको उनले आरोप लगाए। उनले झन्डाको अपमान गर्नु निर्वाचन विरूद्धको अपराध भएको बताए।
उनले आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ओलीले एमाले मात्रै चुनाव जित्ने हक राख्ने पार्टी भएको दाबी गरे।
उनले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको, साक्षरता प्रतिशतमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको बताए।
‘हिजो हुलाकी बाटोमा चप्पल टाउकोमा बोकेर हिँड्नुपथ्र्यो, आज त्यहाँ आधुनिक सडक बनेका छन्,’ उनले भने, ‘बाल मृत्युदर र सुत्केरी मृत्युदर घटाउन हामीले दुर्गमबाट हेलिकप्टरमा उद्धार गर्ने व्यवस्था सुरू गर्यौं।’