नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको पार्टी फुटाउनेहरूले देशलाई कमजोर पारेको बताएका छन्।
श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको आधार भएको बताए।
आफ्नो राजनीतिक जीवनका कठिन संघर्ष, पार्टी निर्माणको अभियान र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा पनि गरे।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्न आफूले गरेको संघर्षको स्मरण गरे।
‘सानो ठाउँबाट निर्माण सुरू गरेर नेकपा एमालेलाई देशको प्रमुख पार्टी र दुई तिहाइ हैसियतको शक्ति बनाइयो,’ उनले भने, ‘तर त्यो सफलता सहन नसक्नेहरूले पार्टी फुटाएर आन्दोलनलाई कमजोर पारे।’
उनले सही कामका लागि गरिएको संघर्ष र जिद्दीले नै गणतन्त्र र परिवर्तन सम्भव भएको दाबी गरे।
आफ्नो कार्यशैलीबारे टिप्पणी गर्दै ओलीले आफू बनेको बाटोमा हिँड्नेभन्दा पनि नयाँ बाटो खन्ने मान्छे भएको बताए।
उनले आफूले जीवनभर नयाँ ठाउँमा जाने र आफै बाटो खन्ने मानिस भएको बताए।
‘म भीरपखेरामा हामफाल्दै बाटो बनाउने मान्छे हुँ। जसले बाटो बनाउँछ, ऊ पहिले अप्ठ्यारोमा जान्छ, ब्लास्टिङ गर्छ र ट्र्याक खोल्छ,’ उनले भने, ‘मैले जिन्दगीभर नयाँ ठाउँमा जाने र आफै बाटो खन्ने काम गरेको छु।’
अध्यक्ष ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ किशोरावस्थादेखि नै राजनीतिमा होमिएको बताए।
१४ वर्षको कठोर जेल जीवन, भूमिगत कालका चुनौती र त्यस क्रममा गुमेका आफ्ना साहित्यिक सिर्जनाहरूबारे उनले भावुक हुँदै स्मरण गरे।
पक्राउ पर्ने डरले नोटहरू नराख्ने बानी परेका कारण अहिले पनि आफूले धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उनको भनाइ थियो।
आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाब नराखेको र श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको बताए। उनले राजनीतिमा त्याग र पारदर्शिताको महत्व धेरै रहेको बताए।
‘मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु, श्रीमतीलाई बलियो बनाउनु र उनको कमाइ खानुमा मलाई गर्व छ,’ उनले भने।
यसलाई उनले सामाजिक न्याय र समानताको नयाँ भाष्यका रूपमा व्याख्या गरे।
राजनीतिक नेतृत्वले समयको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले युवाहरूलाई ‘टाइम पास’ नगर्न सुझाव दिए।
‘समयका डटहरूको जोडाइ नै जिन्दगी हो। समय खेर फाल्नु भनेको जिन्दगी खेर फाल्नु हो,’ उनले भने।
साथै, देशको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दै उनले युवाहरूलाई समयमै विवाह गर्न र सन्तान जन्माएर देशको भविष्य सुरक्षित गर्न समेत आग्रह गरे। –न्युज एजेन्सी नेपाल