नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का उम्मेदवार किरणकिशोर घिमिरेले आफूलाई निर्वाचित गराएमा प्राप्त हुने तलब–भत्ता सबै बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्।
सोमबार बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस उम्मेदवार घिमिरेले आर्थिक अभावका कारण पढाइबाट बञ्चित हुन बाध्य भएका दलित तथा विपन्न परिवारका छोरा–छोरीलाई उच्च शिक्षाको पहुँचसम्म पुर्याउन तलब भत्ता उनीहरूकै लागि खर्च गर्ने प्रतिबद्धता जाहेर गरेका हुन्।
‘राजनीति केवल पद र प्रतिष्ठाका लागि होइन, समाज परिवर्तनका लागि हो,’ उनले भने, ‘म निर्वाचित भएमा पाउने सम्पूर्ण तलब–भत्ता विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा लगानी गर्नेछु।’
शिक्षालाई सामाजिक रूपान्तरणको मुख्य आधार भएको भन्दै कांग्रेस उम्मेदवार घिमिरेले राज्यबाट पाउने सुविधालाई समाजमै फर्काउने प्रतिबद्धता जाहेर गरेका हुन्।
उम्मेदवार घिमिरेले दाङ–२ मा शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बाचा मतादाता माझ गरेका थिए।