नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ कहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने बताएका छन्।
सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने बताएका हुन्।
'जहाँ उभियौं त्यहाँबाट वरिपरि हेरियो भने एमालेले गरेको विकास देखिन्छ। विकास हाँक्ने र विकास गर्ने पार्टी एमाले हो भनेर सबैलाई थाहा छ,' उनले भने।
तर मानिसहरू विकास भएको देख्दा देख्दै पनि अहिलेसम्म के गर्यौ भनेर प्रश्न गरेको उनको गुनासो छ।
'कालोपत्रेमा उभिएर अहिलेसम्म के काम गर्यौ भन्छन्। घरछेउको फुसको स्कुल दरबारजस्तो बनेको छ। तैपनी के भयो भन्छन्। घरमा झलमल्ल बिजुली बलेको छ, के भयो भन्छन्। ट्वाइलेटमा नुहाउने, हात धुने पानी आउने छुट्टै धारा छ, फेरि के भयो भन्छन्,' उनले भने।
उनले एमाले सरकारमा आए पछि विकासका काम तीव्र गतिमा अगाडि बढ्दा विरोधीहरू थर्कमान हुने बताए।
'त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ। काम बन्द भएपछि फेरि म आउनुपर्छ। म सरकारको नेतृत्वमा फर्किएपछि फेरि काम अगाडि बढ्छ,' उनले भने।
बालेनलाई कटाक्ष
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै ख्याल ख्यालमा आफूलाई प्रधानमन्त्री घोषणा गरेको भन्दै कटाक्ष गरेका छन्।
'बच्चा बच्चीलाई सोध्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ। राष्ट्रपति पनि भन्न सक्छ। तर त्यो बच्चो भइहाल्ने त होइन नी। उसले आफूलाई घोषणा गरिदिन्छ। यस्तै मान्छेहरूलाई लाग्यो। ख्यालख्याल जस्तो लाग्यो मान्छेहरूलाई,' उनले भने।
उनले एमाले ख्याल ख्यालमा नभई सुखी नेपाली र समृद्ध नेपालको गन्तव्य तोकेरै जनतामा आएको बताए।
उनले एमाले विकासको हिमायती रहेको बताए।
एमाले सरकारबाट बाहिरिनेबित्तिकै विकास निर्माणका काम ठप्प हुने बताए। 'मलाई सरकारबाट हटाएपछि ड्राइभरबिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउनेबित्तिकै फेरि कुद्छ। मैले सरकार छाडेपछि फेरि देश जहाँको त्यही बस्छ। यही हुने गरेको छ,' उनले भने।