जेन जी २.० ले फागुन २१ गतेको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ।
देशव्यापी युवाहरूको संगठन बनाएको समूहले उम्मेदवारको क्षमताको आधारमा विभिन्न जिल्लामा विभिन्न दलका उम्मेदारहरुलाई साथ दिने रणनीतिअनुसार रुपन्देहीमा पूर्व अर्थमन्त्री रहेका पौडेललाई समर्थन गर्ने घोषणा गरेको हो।
भदौ २३ गतेको जेनजी आन्दोलनको अगुवाइ समेत गरेका उक्त समूहका प्रवक्ता अविन लिम्बुले कुनै राजनीतिक दलभन्दा पनि उम्मेदवारहरूको पृष्ठभूमि र क्षमताको आधारमा समर्थन र सहयोग गर्ने नीति अनुसार रुपन्देही क्षेत्र नं. २ मा विष्णु पौडेललाई समर्थन गरेको जानकारी दिएका हुन्।
उक्त समूहले सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगन थापा र चितवनमा नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रेणु दाहाललाई समर्थन गरेको लिम्बुले जानकारी दिए।
रुपन्देहीको भौतिक विकास तथा पूर्वाधारको क्षेत्रमा विष्णु पौडेलले गरेका कामको मूल्याङ्कन, भोलि राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्न सक्ने व्यक्तित्व भएको र एमालेको बलियो जनाधारका कारण जेन जी २.० ले पौडेललाई समर्थन जनाएको लिम्बुले बताएका हुन्।
त्यही व्यक्तित्वकै कारण सर्लाहीमा गगन थापा र चितवनमा रेणु दाहाललाई समर्थन गरेको उनले बताए।
‘हाम्रो साथीहरू ग्राउन्ड जिरोमा हुनुहुन्छ, निर्वाचन आचारसंहिताका कारण त्यो सार्वजनिक गरेका छैनौँ, लगभग रुपन्देही २ मा १५ जना साथीहरू फिल्ड रिपोर्टिङमै हुनुहुन्छ, त्यही रिपोर्टका आधारमा हामीले समर्थन गरेका हौँ, सुकुम्वासी, भूमिहीनका क्षेत्रमा, सडक निर्माणमा उहाँको योगदानका आधारमा साथ दिने निर्णय गरेका हौ,’ लिम्बुले भने–‘सर्लाहीमा अमरेशले पटक पटक जितेर पनि जनताको काम गरेको नपाएको रिपोर्टहरू धेरै आए, स्थानीय मतदाताका विषयमा अमरेश कहिल्यै सम्बोधन नगरेको रिपोर्टका आधारमा गगनलाई साथ दिएका हौं।'
जेनजी समूहले रुपन्देहीमा आफूहरूको आन्तरिक मत सर्वेक्षण तथा उम्मेदवारहरूको पृष्ठभूमि र गरेका कामको मूल्याङ्कन गरिएको बताउँदै उनले राम्रो काम गर्ने जुनसुकै दलका उम्मेदवारलाई जेनजीहरू सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
जनताको पक्षमा काम गर्ने जुनसुकै दलका उम्मेदवारलाई प्रतिनिधिसभा निर्वाचनमा विजयी गराउनुपर्ने आफ्नो स्पष्ट दृष्टिकोण बताउँदै उनले राजनीतिक विचारभन्दा पनि पात्र र योजनाको आधारमा जेनजी हरूले साथ दिएको जनाएका छन्।