नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) बाट कैलाली- ५ मा उम्मेदवार रहेका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
आफूले उठाउँदै आएका विषय रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मिलेकाले पार्टीमा समाहित भएको उनले बताए।
उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरे।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले भने, 'मेरो एजेन्डा सुशासन, समावेशिता, विकास रहेको थियो। जुन रास्वपाका उम्मेदवारको पनि छ। परिवर्तनका लागि हामी एक ठाउँ आउन जरुरी ठानेर आफ्नो उम्मेदवारी स्थगित गरेको हुँ।´
उक्त कार्यक्रममा चन्दले चौधरी जस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताए। `उहाँको आगमनले रास्वपा थप बलियो भएको महसुस गरेको छु,' चन्दले भने।
चौधरी गत निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार बनेका थिए। त्यतिबेला उनले ५००० हजार भन्दा मत प्राप्त गरेका थिए।