नेकपा एमालेले आउँदो फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा सार्न नहुने बताएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख मिनबहादुर शाहीले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका हुन्।
यद्यपि बजारमा निर्वाचन हुँदैन भन्ने हल्ला चलेको पनि उनले बताए।
उनलाई सम्मेलनमा उपस्थित पत्रकारले ‘अझै चुनाव हुनेमा शंका छ?’ भनेर सोधेका थिए।
‘निर्वाचन सर्ने कुराको आशंका हो र भन्ने प्रश्नमा हामीले फागुन २१ गते विज्ञप्ति मार्फत पनि, फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा सार्ने जे हल्ला बजारमा पिटाइँदैछ। तपाईंहरूले पनि सुन्नुभएको छ। हामीले फागुन २१ गते कुनै पनि बहानामा निर्वाचन सर्नु हुँदैन। फागुन २१ गते निर्वाचन सम्पन्न हुनुपर्छ भनेका छौं,’ जबाफमा उनले भने।
यस्तै निर्वाचन हुनेमा एमालेलाई कुनै शंका नरहेको पनि उनले बताए।
‘एमालेलाई कुनै शंका छैन, जे हल्ला पिटाइएको छ बजारमा तपाईंहरू प्रत्येकलाई निर्वाचन हुन्छ र भन्नेमा शंका छ होला। तर त्यो शंकाको अन्त्य गर्ने काम सरकारको हो। निर्वाचन हुन्छ, शान्ति सुरक्षाको प्रत्याभूति गर्छौं, र मतदाताहरूले स्वतन्त्र र निर्भिक ढंगले भयरहित ढंगले मतदाताले मतदान गर्न पाउँछन् भन्ने अधिकारको सुरक्षित गर्ने, प्रत्याभूत गर्ने काम सरकारको हो। कुन षड्यन्त्रको साथ यो हल्ला पिटाइँदैछ हामी यो प्रश्न सोध्न चाहन्छौं,’ उनले भने।