राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापाप्रति कटाक्ष गर्दै सांसद र मन्त्री बनेको २० वर्षपछि मात्रै सडक बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आएको बताएका छन्।
ठेकेदारलाई रूखमा बाँधेर सडक नबन्ने बरू ४१ वटा कानुन परिमार्जन गर्नुपर्ने भनेर कांग्रेस सभापति थापाले काठमाडौंंमा आयोजित प्रश्नोत्तर कार्यक्रममा बोलेका थिए।
मंगलबार इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले कानुन फेर्नुपर्ने कुरामा पटकपटक सांसद र मन्त्री बनेपछि मात्रै ध्यान गएको बताएका हुन्।
'२०/२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १२/१५ वटा कानुन फेर्न पर्छ भन्ने ज्ञान आयो तपाईंहरूलाई? तपाईंको ज्ञान तपाईसँग राख्नुहोला,' लामिछानेले भने।
उनले निर्माण व्यवसायीलाई बाँध्ने भनिएको विषयमा पनि कानुनले नै बाँध्ने भन्न खोजिएको बताए।
'निर्माण व्यवसायीहरूले हामी असुरक्षित भयौं कि भन्नुहोला। बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो। डोरीले बाँध्ने भनेको होइन। कानुनुले बाँधेर काम गराउने भनेको हो,' उनले भने।
लामिछानेले निर्माण व्यवसायीहरूलाई विज्ञप्ती निकाल्नतिर भन्दा उपकरणहरू खरिद गर्नतिर लाग्न पनि आग्रह गरे।
' देश विकासतर्फ जाँदैछ। दुई सिफ्ट/तीन सिफ्टमा काम हुन्छ। रातारात काम हुन्छ। तपाईंसँग भएका उपकरणरू पर्याप्त छैनन् होला। विज्ञप्ती निकाल्न पर्दैन, के के इक्विपमेन्ट ल्याउनुपर्ने हो कसरी ल्याउनुपर्ने हो त्यतातिर ध्यान दिनुस्,' उनले भने।