राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताएका छन्।
मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले तोकिएको समयमै चुनाव गर्दै परिणाम स्वीकार्न आग्रह गरेका हुन्।
सारौं भन्नेहरूलाई फागुन २१ भन्दा अगाडि सार्न पनि लामिछानेले चुनौती दिए।
‘चुनाव सारौं, सारौं भन्नेहरूलाई यति भन्न चाहन्छु। सार्नेले चार दिन वर सारौं हामीलाई ठीक छ। चार दिन पनि अलि लामो भयो,’ उनले भने।
लामिछानेले लोकतन्त्र कुनै दलविशेषले नभई जनताले बचाउने बताए।
‘लोकतन्त्रको ठेक्का कसैले नलिऊँ। लोकतन्त्र जोगाउने यतिका जनता छन्। यतिका सचेत जनताले लोकतन्त्र पनि जोगाउँछन्, देश बनाउँछन् पनि र बचाउँछन्,’ उनले भने।
सभापति लामिछानेले मतदाताहरूलाई विभिन्न दल र तिनका उम्मेदवारहरूबाट झुक्यानमा नपर्न पनि आग्रह गरे।
‘कसैले झुक्याउलान् समानुपातिकमा एउटा र प्रत्यक्षमा अर्को भोट भनेर झुक्याउलान्। बहुमतको सरकार प्राप्त गर्नका लागि प्रत्यक्षमा पनि घन्टी समानुपातिकमा पनि घन्टी,’ उनले भने।
सुध्रेर आउन चाहने दलहरूलाई पाँच वर्षपछि आउन लामिछानेको आग्रह थियो।
‘कुनै दललाई सप्रन र सुध्रन मन छ भने पाँच प्रतिपक्ष सडकको प्रतिपक्ष बनेर सप्रेर आऊन्। हामीले खराब गर्यौं भने तपाईंका लागि त्यही विकल्प बनून्। यसपटक मात्रै घन्टी। यहाँ पनि त्यहाँ पनि, सबैतिर घन्टी,’ उनले भने।
'२०/२० वर्ष सांसद र मन्त्री बनेपछि मात्रै बुद्धि आयो?'
सभापति लामिछानेले सांसद र मन्त्री बनेको २० वर्षपछि मात्रै सडक बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान आएको भन्दै कांग्रेस सभापति गगन थापाप्रति व्यंग्य गरे।
ठेकेदारलाई रूखमा बाँधेर सडक नबन्ने बरू ४१ वटा कानुन परिमार्जन गर्नुपर्ने भनेर कांग्रेस सभापति थापाले काठमाडौंमा आयोजित प्रश्नोत्तर कार्यक्रममा बोलेका थिए।
'२०/२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १२/१५ वटा कानुन फेर्न पर्छ भन्ने ज्ञान आयो तपाईंहरूलाई? तपाईंको ज्ञान तपाईंसँग राख्नुहोला,' मंगलबार इटहरीमा रास्वपा सभापति लामिछानेले भने।
उनले निर्माण व्यवसायीलाई बाँध्ने भनिएको विषयमा पनि कानुनले नै बाँध्ने भन्न खोजिएको बताए।
'निर्माण व्यवसायीहरूले हामी असुरक्षित भयौं कि भन्नुहोला। बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो। डोरीले बाँध्ने भनेको होइन। कानुनले बाँधेर काम गराउने भनेको हो,' उनले भने।
लामिछानेले निर्माण व्यवसायीहरूलाई विज्ञप्ति निकाल्नतिर भन्दा उपकरणहरू खरिद गर्नतिर लाग्न पनि आग्रह गरे।
'देश विकासतर्फ जाँदैछ। दुई सिफ्ट/तीन सिफ्टमा काम हुन्छ। रातारात काम हुन्छ। तपाईंसँग भएका उपकरणरू पर्याप्त छैनन् होला। विज्ञप्ति निकाल्न पर्दैन, के के इक्विपमेन्ट ल्याउनुपर्ने हो, कसरी ल्याउनुपर्ने हो त्यतातिर ध्यान दिनुस्,' उनले भने।