नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशले अब अर्को शक्ति सम्हाल्न नसक्ने बताएका छन्।
उनले शनिबार दिउँसो काठमाडौं क्षेत्र नम्बर ५ र ६ को चुनावी सभालाई सम्बोधन गर्दै अब देशलाई सम्हाल्ने शक्ति कांग्रेस बन्ने बताएका हुन्।
‘गाडी हाँक्नेले सुझबुझ पुर्याएन भने गाडी पल्टिन्छ, दुर्घटना हुन्छ। नेपालले अब अर्को दुर्घटना व्यहोर्न सक्दैन। हामीसँग समयको सुविधा छैन। हामीसँग क्षमता पनि छैन। हामीले सम्हाल्नुपर्नेछ। त्यो सम्हाल्ने शक्ति नेपाली कांग्रेस हो, जसले यो पाँच वर्षको समयमा कांग्रेसको नयाँ नेतृत्वले एउटा कार्यकर्तालाई निराश नबनाउने मात्र होइन, एउटा नागरिकलाई पनि निराश बन्न दिन्न। किनकी आज भन्दा भोलि राम्रो हुँदैछ भन्ने विश्वास स्थापित गर्छ,’ उनले भने।
त्यस्तै उनले अब चुनावी अभियानका लागि एक दिनको समयमात्रै बाँकी रहेको बताउँदै चित्त नबुझाएका मतदातालाई बुझाउन बताएका छन्।
‘यहाँबाट गएपछि एक दिनको समय छ। एक दिनको समयमा संवाद नगरेको, अहिलेसम्म दोहोरो कुरा नगरेको, भेटेर कुरा नबुझाएको, चित्त बुझाउन नसकेको एक जना साथीले अर्को १० जनालाई टार्गेट गरेर भोलि राति १२ बजेसम्म थप १० जनालाई भेट्नै पर्छ। उसलाई कांग्रेसको कुरा सुनाउनै पर्छ। यति कुरा तपाईंहरूले गर्नुभयो भने नेपाली कांग्रेसको विचार, अहिलेको पोजिसन, अधिवेशनपछि आएको नयाँ लिडरसिप, दृष्टिकोण, यी सबै कुरा तल्लो तहसम्म पुर्याइदिनू,’ उनले भने।
उनले काठमाडौंका मतदाताले उत्तेजना र हिंसाको राजनीतिको पक्षमा नउभिने पनि उनले धारणा व्यक्त गरे।