चुनावी सभा र औपचारिक रूपमा प्रचारप्रसार गर्न पाउने समयसीमा एक दिन मात्रै बाँकी छँदा दाङका प्रमुख सहर तुलसीपुर र घोराही आइतबार विभिन्न नाराहरूले गुन्जिए।
तुलसीपुरको बसपार्कमा नेपाली कांग्रेसले बृहत चुनावी सभा आयोजना गरिरहँदा सँगसँगै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो शक्ति प्रदर्शन गर्यो।
बिहान सुरूमा कांग्रेस नेता कार्यकर्ताले उत्साहका साथ र्यालीसहित घरदैलो गर्दै बजार परिक्रमा गरेका थिए।
लगत्तै एमाले र रास्वपाले पनि त्यसैगरी शक्ति प्रदर्शन गर्दै आफ्नो पक्षमा मत मागे।
दाङ क्षेत्र नं. ३ अन्तर्गत पर्ने तुलसीपुर पश्चिममा कांग्रेसबाट दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे, रास्वपाबाट कमल सुबेदी, नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की र राप्रपाबाट दामोदर भण्डारी उम्मेदवार छन्।
नेकपाले तुलसीपुर बजारमा यसअघि नै घरदैलो सकिसकेको थियो।
ठिक यसैगरी २४ किलोमिटर पूर्व घोराहीमा पनि उस्तै माहोल थियो।
दाङ क्षेत्र नं. २ अन्तर्गत पर्ने यो निर्वाचन क्षेत्रमा एमाले महासचिव शंकर पोखरेल आइतबार ‘रोड – सो’मा सामेल भए। यो निर्वाचन क्षेत्रमा कांग्रेसका किरणकिशोर घिमिर, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेकपाका निर्मल आचार्यका बीचमा मुख्य प्रतिपर्धा हुने ठानिएको छ।
एमाले महासचिव शंकर पोखरेलले साझा जनप्रतिनिधिका रूपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने चाहना व्यक्त गरे।
दाङको समृद्धिका लागि संकल्प पत्र तयार परेर आफू निर्वाचनमा होमिएको भन्दै उनले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर अगाडि बढेको हुँदा सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गरेका थिए।
दाङ अहिले ऐतिहासिक ‘टर्निङ पोइन्ट’ मा उभिएको भन्दै एमाले उम्मेदवार पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पुनः पछाडि फर्कने बीचको महत्वपूर्ण छनोट भएको बताए।
पोखरेलले आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै बाँकी अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरे।
उनले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरिएको, राजधानीको गुरूयोजना निर्माण, प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइएको, दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएका थिए।
त्यस्तै उनले घोराही–लमही सडकखण्डअन्तर्गत अर्जुनखोला–मसौट र चौपट्टा खण्डका चारलेन सडकको डिपीआर तयार भई वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया अघि बढाइएको जस्ता कुराहरू गरेका थिए।