राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सल्यानमा मदिरा र चामलजन्य सामान सहित नियन्त्रणमा लिएको गाडी धनीले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको खुलाएको छ।
सोमबार बनगाड कुपिण्डे नगर समितिका सभापति लोकेन्द्र वलीले विज्ञप्ति जारी गर्दै गाडी धनीले व्यक्तिगत वा स्थानीय व्यवसायीको सहयोगका लागि ढुवानी गरेको प्रष्टीकरण दिएको छ।
‘चुनावको दौरानमा प्रयोग गरिएको उक्त गाडीको साहुले ढुवानी खर्च प्राप्त गरी व्यक्तिगत वा स्थानीय व्यवसायीको सहयोगार्थ मात्र ढुवानी गरेको हो यसमा हाम्रो पार्टीको कुनै संलग्नता नभएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछु। उक्त घटनाको वास्तविकता छानबिनको लागि प्रशासनलाई सघाउन रास्वपा बनगाड नगर समिति सदैव तत्पर रहनेछ,’ रास्वपाले भनेको छ।
वलीले उक्त गाडी प्रचारका लागि प्रयोग गरेको बताउँदै मदिरा र चामल वितरण गरेकोमा सत्यता नरहेको बताएका छन्।
‘जुन गाडीमा मदिरा र चामलजन्य सामग्रीहरू ल्याइएको छ। उक्त गाडी रास्वपाले प्रयोग गरेको कुरा कुनै दुई मत छैन। तर जुन कुरालाई सामाजिक सञ्जालमार्फत मदिरा र चामल वितरण गरेको कुरा एकदमै गलत हो भन्ने कुरा यही विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्।
सोमबार बिहान पौने १० बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा रास्वपाको झण्डा प्रयोग भएको गाडीमा मदिरा, चामल लगायत वस्तुहरू फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा दुई बोरा चामल, २१० बोत्तल मदिरा र दुई कार्टुन बियर, खाने तेल तीन कार्टुन फेला परेको थियो।
प्रहरीले चालक सिद्धकुमाख गाउँपालिका-४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सोही गाडीमा सवार बनगाड कुपिन्डे नगरपालिका–१ का ३७ वर्षीय मोहन बिसीलाई पनि नियन्त्रणमा लिएको थियो।
चालक बुढाथोकीले उक्त सामान बिसीको रहेको र उनले त्यो सामान बनगाड कुपिन्डे–५ खैरागार तर्फ लैजान भनेको हुँदा आफूले राखिदिएको बयान दिएका थिए।
यसअघि शनिबार राति मोरङमा पनि प्रहरीले कांग्रेसको प्रचारमा प्रयोग भएको गाडी नियन्त्रणमा लिएको थियो। उक्त गाडीमा साढे ४ लाख नगद र कांग्रेसको प्रचारको पर्चा बरामद भएको थियो।
यो पनि: मोरङमा कांग्रेसको प्रचारमा हिँडेको गाडीमा भेटियो पैसा, बुझाइयो निर्वाचन अधिकृतको कार्यालयमा
