बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान अधिकृत र त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रूपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थलमा तय गरिएका ७ सय ३६ मतदान केन्द्रबाट मतदान गर्ने छन्।
सबै मतदान केन्द्रमा एक एक जना मतदान अधिकृत र एक एक जना सहायक मतदान अधिकृत सहित कर्मचारी खटाइएको रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।
निर्वाचनमा मतदाताहरूको सहजताको लागि २ हजार २ सय ३ जना स्वयंसेवक कर्मचारी समेत खटाइएको छ। मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार रूपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।
सोमबार मध्यरातदेखि मौन अवधि सुरू भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थल, केन्द्र र मतगणना स्थलमा आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाएका हुन्।
मंगलबार बिहानैदेखि नै मतदान स्थलहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन्।
रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका, सिल, छाप लगायतका आवश्यक सामग्री पठाउने काम भइरहेको छ।
मतदानका लागि चाहिने मतपत्र सहित करिब ५ दर्जन आवश्यक सामग्री बुझी, रूजु गरी मतदान अधिकृत सहित कर्मचारी, सुरक्षाकर्मीहरू आआफ्नो मतदान केन्द्रमा खटिएका छन्।
अधिकांश मतदान स्थलमा सबै सामग्री पुगिसके पनि नजिकका र सुरक्षाका दृष्टिले संवेदनशील मानिएका स्थानमा मतपत्र पठाउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार मतदान स्थलमा पुगेका अधिकृतहरूले सूचना टाँस गर्ने, सर्वदलीय बैठक गर्ने र मतदानको तयारी गरिरहेका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरूले प्रभावकारी रूपमा काम गरिरहेको बस्नेतको भनाइ छ।
मतदानको तयारीसँगै जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा मतगणनाका लागि गणना स्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, गणना स्थलमा तार जाली लगाउने लगायतका काम पनि अन्तिम चरणमा पुगेको बस्नेतले बताए।