प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ।
कतिपय स्थानमा लाइनमा रहेका मतदाताहरू अझै मतदान गरिरहेका छन्।
निर्वाचन सम्पन्न भएपछि आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन गरी ६० प्रतिशत मतदान भएको जानकारी दिए।
यसैबीच कतिपय मतदानस्थलमा स्थानीयहरूले बहिष्कार नै गरेका छन्।
दाङको बबई गाउँपालिका-७ देउती माध्यमिक विद्यालय तल्लो मलैमा मतदान केन्द्रमा मतदान गर्न कोही पुगेनन्।
यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत पर्छ। यहाँका स्थानीयले बस्ती स्थानान्तरण गर्न माग गर्दै आएका थिए। तर उक्त माग पूरा नभएकोमा उनीहरूको गुनासो छ।
त्यसैगरी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित टोक्सेल भन्ने मतदान केन्द्रमा पनि स्थानीयहरू मतदान गर्न पुगेनन्।
यहाँका प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने योजना ल्याएपछि स्थानीयले जग्गा दिएका थिए। तर उक्त अस्पतालको निर्माण प्रक्रिया नै सुरू नभएको गुनासो स्थानीयको छ।
यही विषयमा पत्रकारले प्रमुख निर्वाचन आयुक्त भण्डारीसँग प्रश्न गरेका थिए।
उनले स्थानीयले मतदान गर्न अस्वीकार गरेको विषय संघीय सरकार र प्रादेशिक सरकारसँगको असन्तोष रहेको बताए।
‘अस्वीकार गरेको दुई-तीन ठाउँ छ। निर्वाचन आयोगसँग प्रश्न छैन। यो ठाउँमा सरकारबाट प्रतिज्ञा भएको रहेछ। मतदाताले सरकारप्रति असन्तुष्टि जाहेर गर्नु भएको हो,’ उनले भने।
यो समूह न्यून रहेको पनि उनले बताए।
त्यसैगरी, मतदाताहरू मतदान नै नगरी फर्किएको अवस्था नरहेको पनि उनले बताए।