मनाङको नार्पाभूमि गाउँपालिकाबाट मतपेटिका सदरमुकाम चामे ल्याएपछि मत गणना सुरू हुने मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले बताएका छन्।
भौगोलिक कठिनाइका कारण मतदान सकिएपछि बिहीबार नै मतमेटिका ल्याउन नसकिएको हो।
पौडेलका अनुसार शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत नार्पाभूमिबाट मत पेटिका सदरमुकाम चामे ल्याइनेछ।
मनाङका अन्य तीनवटा गाउँपालिकामा रहेका मतदान स्थलबाट मतपेटिका सकलन भइसकेको छ। मनाङमा चामे, नासों र मनाङ गाउँपालिकाको मतपेटिका सदरमुकाम चामे पुगिसकेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।
'नार्पाभूमिबाट भोलि नेपाली सेनाको हेलिकप्टरबाट मत पेटिका चामे ल्याइन्छ। त्यसपछि सर्वदलीय बैठक बसेर मत गणना हुन्छ,' उनले भने, 'भौगोलिक कठिनाइका कारण आजै मत पेटिका संकलन गर्न सम्भव भएन।'
मनाङमा कुल ७ हजार मतदाता रहेकामा ४१ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
मनाङमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरूङ, नेकपाबाट यशोदा सुवेदी गुरूङ र मंगोल नेसनल पार्टीबाट रामबहादुर घले उम्मेदवार छन्।
मनाङमा नेकपा एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुरलाई समर्थन जनाएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी दिएको थिएन।