काठमाडौंका दश वटै निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन्।
गए रातिबाट सुरू भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा काठमाडौंमा अभूतपूर्व लहर देखिएको हो।
काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले अग्रता लिइरहेकी छिन्। उनी विजय उन्मुख देखिन्छिन्।
नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीभन्दा रञ्जु दर्शना झण्डै दोब्बर मतले अगाडी छन्। रञ्जु दर्शनाले १० हजार ५ सय ८१ मत प्राप्त गर्दा क्षेत्रीले ४ हजार ७ सय ३३ मत मात्र प्राप्त गरेका छन्। राप्रपाका रवीन्द्र मिश्र तेश्रो स्थानमा छन्। उनको मत २७ सय ४४ मत छ ।
काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले अग्रता लिइरहेका छन्। तर उनको अग्रता भने झिनो छ। केसीले ४ सय २४ मत प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुयालले २ सय ३६ मत सहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसका कबिर शर्माले १ सय ८९ मत र राप्रपाकी कुन्तिदेवी पोखरेलले ५७ मत ल्याएका छन्।
काठमाडौं ३ मा पनि रास्वपाका राजुनाथ पाण्डेले अग्रता लिइरहेका छन्। पाण्डेले ४ हजार ६ सय ४९ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ३ हजार ३ सय ४१ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामेश्वर फुयालले ९ सय ४९ मत प्राप्त गरेका छन्।
काठमाडौं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले पछ्याइरहेका छन्। बमले ३ हजार ९ सय २२ मत प्राप्त गर्दा तिमिल्सेनाले १ हजार ९५ मत ल्याएका छन्। नेकपा एमालेका राजन भट्टराईले ९ सय ५६ मत ल्याएका छन्।
काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले अग्रता लिएका छन्। उनले ३ हजार ७ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रदीप पौडेलले १ हजार ७८ मत ल्याएका छन्। नेकपा एमालेका ईश्वर पोखरेलले ६ सय ९९ मत प्राप्त गरेका छन्।
काठमाडौं ६ मा पनि रास्वपाका शिशिर खनाल राम्रो मतान्तरले अगाडी छन्। उनले ४ हजार ६ सय ५४ मत प्राप्त गर्दा अन्य दलका उम्मेदवारले १ हजार मत पनि पुर्याउन सकेका छैनन्। एमालेका अमनकुमार मास्के र नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्री निकै तल छन्।
काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीले पनि फराकिलो अग्रता लिएका छन्। पराजुलीले ४ हजार ६ सय ७७ मत प्राप्त गर्दा नेकपा एमालेका प्रकाश श्रेष्ठ र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले हजार मत पनि प्राप्त गरेका छैनन्।
काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजय उन्मुख छन्। उनले ७ हजार ६ सय १७ मत प्राप्त गर्दा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका उम्मेदवारको एक हजार मत कटेको छैन।
काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। रास्वपाका डिपी अर्यालले १ हजार ५ सय ५२ मतका साथ अग्रता लिइरहेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका नानु बास्तोलाले २ सय ६१ मत र नेकपा एमालेका अजयक्रान्ति शाक्यले १ सय ५२ मत प्राप्त गरेका छन्।
काठमाडौं १० मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन्। उनले ५ हजार ७ सय ६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मत प्राप्त गरेका छन्। त्यस्तै नेपका एमालेका विनोद श्रेष्ठले ७ सय ३१ मत ल्याएका छन्।
काठमाडौंका कतिपय क्षेत्रमा मध्यरातबाटै मतगणना सुरू भएकाले आजै साँझसम्म मतपरिणाम आइसक्ने देखिन्छ। कतिपय क्षेत्रमा मतगणनाको परिणाम राति अबेर वा भोलि बिहानसम्म प्राप्त हुने देखिन्छ।