निर्वाचन अधिकृतको कार्यालयले धनुषा–१ को मतगणना तत्काल सुरू नगर्ने जानकारी दिएको छ।
मतगणना सम्बन्धमा स्पष्ट निर्देशन पाऊँ भनेर त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले आयोगमा पत्राचार भएको थियो।
तर आयोगबाट स्पष्ट निर्देशन नआएकाले मतगणना सुरू गर्न नसकिएको कार्यालयले जानकारी दिएको छ।
‘निर्वाचन आयोग नेपाललाई च.नं.१९८ मिति २०८२/११/२२ को पत्रद्वारा पत्राचार भइसकेको तर निर्वाचन आयोगबाट अहिलेसम्म निर्देशन प्राप्त भइनसकेको हुँदा आयोगबाट निर्देशन प्राप्त भएपश्चात मतगणना कार्य प्रारम्भ गरिनेछ। मतगणना प्रारम्भ हुने सूचना पछि प्रकाशित गरिनेछ,’ निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले फागुन १८ गते रद्ध गरे पनि मतपत्रमा चुनाव चिह्न कायमै थियो ।
उम्मेदवारी खारेज गरिएको विरुद्धमा किशोरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थि । तर अदालतले पनि कुनै आदेश जारी गरेको छैन।
रास्वापाको घन्टी चुनाव चिह्नमा परेको मतलाई गणना गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौल भएपछि स्पष्ट निर्देशन माग गरिएको मुख्य निर्वाचन अधिकृत मनोजले जानकारी दिए।
‘रास्वपाका प्रत्यक्ष तर्फका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले रद्ध ग¥यो, मतपत्रमा चुनाव चिह्न हटाईएको थिएन, त्यहाँ मत संकेत भएको छ, त्यो मत पत्रलाई कसरी गणना गर्ने?’ उनले भने,‘ यस विषयमा हाम्रो निर्वाचन कानून, निर्देशिका वा परिपत्रले समेटेको छैन। विवरण खुलाएर स्पष्ट निर्देशन पाउँ भनेर निर्वाचन आयोगलाई पत्राचार गरिएको थियो।निर्देशन आएपछि मतगणना सुरू गर्छौं।’
रास्वपाका उम्मेदवार एवं प्रतिनीधिले कुन कानूनका आधारमा घण्टी चिन्हमा खसेको मत गणना नहुने हो? भनेर जिकिर गरेको उनी बताउँछन्।
‘त्यस्तो अवस्थाको मत पत्रलाई कसरी गणना गर्ने? भन्ने बारेमा ऐन कानूनमा व्यवस्था नभएकोले मैले उत्तर दिन सकिनँ। हतारमा काम अघि बढाउनु भन्दा आयोगको स्पष्ट निर्देशन पर्खेको छु’ उनले भने, ‘आधिकारिक निकायबाट स्पष्ट निर्देशन आएपछि काम अघि बढाउँदा सहज हुन्छ।’
उम्मेदवार किशोरीले दिएको रिटमा फागुन २५ गते सुनुवाइ छ।