राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रले प्रतिनिधि सभा निर्वाचनमा पराजयपछि विजयी उम्मेदवार रन्जु दर्शनालाई बधाई दिएका छन्।
काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार दर्शना विजयी भएकी छिन्। मिश्र तेस्रो स्थानमा छन्।
सामाजिक सञ्जाल फेसबुकमा मिश्रले रन्जु दर्शनाको पुरानो फोटो पोस्ट गर्दै लेखेका छन्– ‘तपाईँलाई वधाई तथा शुभकामना दिन चाहन्छु। भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईँको इमान र दृढता सदा कायम रहोस्!’
रन्जुले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। यहाँ कुल २९ हजार ७७४ मत खसेको थियो।
दोस्रो पटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी न्यौपानेले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापालाई पछि पारेकी हुन्। थापाले ६ हजार ३६४ मत ल्याए।
यसअघिका निर्वाचनमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत ल्याए।
न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन्। विवेकशील अभियानमार्फत् राजनीतिमा पाइला राखेकी उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा २३ हजार बढी मत ल्याएकी थिइन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी उनले अपेक्षित मत प्राप्त गर्न सकिनन्। सेलरोटीको चाङ चुनाव चिह्न लिएर उक्त निर्वाचनमा उम्मेदवार बनेकी न्यौपानेले ६०० हाराहारी मात्रै मत ल्याएकी थिइन्। त्यसपछि राजनीतिमा पछि परेकी न्यौपाने रास्वपा प्रवेशसँगै पुनरागमन भएकी हुन्।
विविकेशिल पार्टीबाट राजनीति सुरु गरेकी रन्जु र साझा पार्टीबाट राजनीति सुरू गरेका मिश्र दुई दल एकतापछि एउटै दलमा थिए। तर मिश्रले विचार परिवर्तन गर्दै राजसंस्था पुर्नस्थापनाको मुद्दा बोकेर राप्रपाबाट राजनीति अघि बढाउने निर्णय गरेका थिए।