गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले दल छाडेको घोषणा गरेका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जन्मिएको गतिशील लोकतान्त्रिक पार्टीको उनी केन्द्रीय सदस्य थिए। हालको राजनीतिक संस्कारले आफ्नो आत्मासँग मेल नखाएको उनले बताएका छन्।
‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन। मैले बुझेँ– पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन। अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ। आगामी दिनमा म मेरो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्नेछु। स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि र गुणस्तरीय माध्यमिक शिक्षा– यिनै क्षेत्रबाट दिगो रोजगारी र समतामूलक समृद्धिको बीउ रोप्न सकिन्छ भन्ने मेरो विश्वास छ। गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्यमान्यता र एजेण्डाप्रति प्रतिवद्ध रहन म शुभकामना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नवयुवाको विद्रोहले २४ घण्टाभित्रै पुरानो सत्तालाई गल्र्याम्गुर्लुम्मै ढालिदिएको र त्यसपछि आफ्नो मनमा देश साँच्चै नयाँ दिशातर्फ मोडिन सक्छ भन्ने गहिरो विश्वास जन्मिएको उनले बताएका छन्। यही विश्वासले आफू पनि दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भएको र गतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनेको उनको भनाइ छ।