प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा हालसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव नौ हजार २०६ मत प्राप्त गरी अग्रता लिएका छन्।
निर्वाचन अधिकृत टोपबहादुर बिष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा आठ हजार ७७० मत प्राप्त गरी यादवलाई पछ्याउँदै छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कन्हैया बनियाँ आठ हजार ४४७ मतसहित तेस्रो स्थानमा छन्। सो निर्वाचन क्षेत्रमा कुल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो।
रुपन्देही–५ मा रास्वपाका खानको अग्रता कायम
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअन्तर्गत रुपन्देहीको क्षेत्र नं ५ को हालसम्म प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तौफिक अहमद खानले सात हजरा ६९३ मत प्राप्त गरी अग्रता लिएका छन्।
निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीका अनुसार एमालेका उम्मेदवार खिमलाल भट्टराईले दुई हजार ५६४ मत प्राप्त गरी खानलाई पछ्याउँदै हुनुहुन्छ । त्यस्तै, दुई हजार ५०३ मत प्राप्त गरी नेपाली कांग्रेसका भारतकुमार शाह तेस्रो स्थानमा छन्। सो निर्वाचन क्षेत्रमा कुल एक लाख ३४ हजार ४४२ मतदाता भएकामा ८४ हजार ८३८ मत खसेको थियो।
रुपन्देही क्षेत्र नं ३ मा हालसम्म गणना भएको १५ हजार ३४१ मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम राखेको छ। रास्वपा डा लेखजंग थापा १० हजार ८४ मत प्राप्त गरी अग्रस्थानमा छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वासुदेव घिमिरेले एक हजार ३६३, नेपाली कांग्रेसका सुशील गुरुङ एक हजार ३१७ र राप्रपाका गौरव बोहोराले ९५७ प्राप्त गरेका छन्। क्षेत्र नं ३ मा एक लाख ४० हजार ३५ मतदाता रहेकामा ९७ हजार ३८७ मत खसेको छ।