नेकपा एमालेका सचिव राजन भट्टराईले संसदीय निर्वाचन नलड्ने घोषणा गरेका छन्। काठमाडौं–४ मा भारी मतान्तरले पछाडि परेपछि उनी उम्मेदवार नबन्ने बताएका हुन्।
उनले यसपटक पनि अन्तिम समयमा मात्रै उम्मेदवारी दिने निर्णय गरेका हुन्। काठमाडौं–४मा दुई पटक हार व्यहोरिसकेका र अहिले पनि हारको नजिक पुगेका भट्टराईले नेपाली कांग्रेसका सभापति गगन थापा उक्त क्षेत्रबाट नलड्ने भएपछि मात्रै उम्मेदवारी दिन राजी भएका थिए।
‘म यहाँहरूका बीच सूर्य चिह्न लिएर निर्वाचनमा आएको थिएँ। तर यसपटक पनि यहाँहरूको विश्वास जित्न सकिन। लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै यस निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। विजयउन्मुख मित्र तथा सम्बन्धित दललाई हार्दिक बधाई ज्ञापन गर्दछु। निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन दिनुहुने पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्।
राजनीतिमा पराजय अन्तिम सत्य नभएको भन्दै यो आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि भएको उनको भनाइ छ।
‘इतिहासले पनि यही देखाएको छ। आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्धलाई पुनः सुदृढ गर्दै अघि बढ्दा फेरि जनताको विश्वास जित्न सफल भइन्छ। लोकतान्त्रिक यात्रामा धैर्यता, आत्ममूल्यांकन र निरन्तरताको सधैं महत्व रहन्छ र हामी यसलाई आत्मसाथ गरि नै रहने छौं। र अन्त्यमा मेरो ब्यक्तिगत निर्णय; म क्षेत्रबाट आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने पनि यसै समयमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्।