प्रतिनिधि सभा निर्वाचन २०८२ को निर्वाचन आयोगले प्रकाशन गरेको पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले मुलुकभरका १६५ मध्ये १३ स्थानमा अग्रता लिइरहेको छ।
कांग्रेसले अग्रता लिएका अधिकांश ठाउँमा नेकपा एमाले दोस्रो स्थानमा छ। कांग्रेसले अग्रता लिएका ६ क्षेत्रमा एमाले दोस्रोमा छ। ४ क्षेत्रमा रास्वपा दोस्रो छ भने दुई क्षेत्रमा नेकपा दोस्रोमा छ। कांग्रेसले अहिले तीन स्थानमा जित हासिल गरेको छ। रसुवा, मनाङ र मुस्ताङमा कांग्रेसले जितेको हो।
हेरौँ कहाँ कहाँ छ कांग्रेसको अग्रता :
कोशी प्रदेशका दुई क्षेत्रमा कांग्रेस अघि छ।
ताप्लेजुङमा गजेन्द्र प्रसाद तुम्याङ (लिम्बु) ले अग्रता लिएका छन्। ताप्लेजुङ जिल्ला नै एउटा क्षेत्र हो। तुम्याङले २२७८ मत ल्याएका छन्। ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी एमालेका क्षितिज थेवे २०९२ ल्याएर दोस्रो स्थानमा छन्।
कोशी प्रदेशकै इलामको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निस्कल राई अघि छन्। उनले ८४३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका काजीमान कागतेले ५६९ मत ल्याएका छन्।
मधेश प्रदेशको एउटा क्षेत्रमा कांग्रेसको अग्रता छ।
रौतहटको क्षेत्र नम्बर मोहम्मत फिरदोश आलमले २१७९मत ल्याएर अग्रता लिएका छन्। उनीभन्दा हजार मतले पछि छन् राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सागिर, १०३६ ल्याएका छन्।
बागमती प्रदेशमा भने कांग्रेसले दुईवटा क्षेत्रमा अग्रता लिएको छ।
धादिङ २ मा रमेश प्रसाद धमला ३६४९ मत ल्याएर अग्रता लिइरहेका छन्। उनलाई २७५८ मतका साथ पछ्याइरहेका छन् नेकपा राम बहादुर भण्डारीले।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका वंशलाल तामाङले अग्रता लिइरहेका छन्। उनले २०८७ मत प्राप्त गरेका छन्। उनलाई नेकपाका युवराज दुलालले पछ्याइरहेका छन्। उनी १२ मतले मात्र पछि छन्। युवराजले २०७५ मत प्राप्त गरेका छन्।
लुम्बिनिका पनि दुईवटा स्थानमा कांग्रेसले अग्रता लिएको छ।
कपिलवस्तु ३ मा अभिषेक प्रताप शाह ८५५४ मतका साथ अघि छन्। उनका निकटतम प्रतिद्वन्दी रास्वपाका प्रकाश रजौरीयाले ५६५१ मत ल्याएका छन्।
प्युठान २ का गोविन्दराज पोखरेल पनि ४६२३ मत ल्याएर अग्रता लिइरहेका छन्। यो क्षेत्रमा रास्वपाका सुशान्त वैदिक दोस्रो स्थानमा छन्, ४००५ ल्याएका छन्।
कर्णाली प्रदेशका तीन क्षेत्रमा पनि कांग्रेसले अग्रता लिएको छ।
सुर्खेत क्षेत्र नम्बर १ मा विष्णुबहादुर खड्का ७३८१ का साथ अग्रता लिइरहेका छन्। यहाँ एमालेका ध्रुवकुमार शाही ५२५१ ल्याएर उनलाई पछ्याउँदै छन्।
त्यस्तै जाजरकोटको १ मा खडकबहादुर बुढा ३९५१ ल्याएर अघि छन्। एमालेका डम्बरबहादुर सिंहले ३२९२ मत ल्याएर दोस्रो स्थानमा छन्।
दैलेख १ मा बासना थापाले ९४२५ मत ल्याएर अग्रता लिइरहेकी छन्। उनलाई ८९६२ मतका साथ एमालेका रविन्द्र राज शर्माले पछ्याइरहेका छन्।
सुदुरपश्चिममा कांग्रेसको २ क्षेत्रमा अग्रता छ।
बैतडी १ चतुरबहादुर चन्दले ७३६ ल्याएर अग्रता लिएको छ। यहाँ रास्वपाका हरिमोहन भण्डारी उनले भन्दा ९ मत कम ल्याएर दोस्रोमा छन्।
त्यस्तै बाजुरा १ जनकराज गिरी ४९२ मत ल्याएर अघि छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका लालबहादुर थापाले ४७० मत ल्याएका छन्।