प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू भारी मतान्तरसहित अगाडि छन्।
मोरङलाई परम्परागत रूपले नेपाली कांग्रेसको बलियो आधार क्षेत्र मानिन्थ्यो।
कोइराला परिवारको लामो राजनीतिक विरासत बोकेको मोरङमा यसपटक कांग्रेसका प्रभावशाली उम्मेदवारहरू नै फराकिलो मतान्तरसहित पछाडि देखिएका छन्।
मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने १० हजार २५६ मतसहित अग्रस्थानमा छन्। उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले ७ हजार ५१५ मतसहित पछ्याइरहेकी छन्।
यहाँ नेपाली कांग्रेस कोशीका सहमहामन्त्री खड्गबहादुर फागो ५ हजार १२० मतसहित तेस्रो स्थानमा छन् भने एमालेका घनश्याम खतिवडा ३ हजार ५७९ मतसहित चौथो स्थानमा छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कुलप्रसाद साम्बाले ८३२ मत प्राप्त गरेका छन्।
मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्की ११ हजार ४२४ मतसहित अग्रस्थानमा छन्। यहाँ एमालेका दिलीपकुमार अग्रवाल ४ हजार ४५७ मतसहित दोस्रो स्थानमा छन्।
पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजाल ३ हजार ८४९ मतसहित तेस्रो स्थानमा छन्। श्रम संस्कृति पार्टीका अबुहो रैरहले ५७५ मत पाएका छन्।
मोरङ–३ मा रास्वपाका गणेश कार्की ४ हजार ४६५ मतसहित अग्रस्थानमा छन्। उनलाई श्रम संस्कृति पार्टीका अमिर मगरले ३ हजार ७६८ मतसहित पछ्याइरहेका छन्।
यहाँ कांग्रेसका सुनिल शर्मा ३ हजार ४९७ मतसहित तेस्रो स्थानमा छन् भने एमालेका इरनकुमार राई १ हजार ३७ मतसहित चौथो स्थानमा छन्।
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी २९ हजार ५१९ मतसहित अत्यन्त फराकिलो मतान्तरमा अगाडि छन्।
यहाँ कांग्रेसका महामन्त्री गुरूराज घिमिरे १० हजार १३१ मतसहित दोस्रो स्थानमा छन् भने नेकपाका अमनलाल मोदी ९ हजार ९६५ मतसहित तेस्रो स्थानमा छन्। एमालेका जीवन घिमिरे ५ हजार ६८३ मतसहित चौथो स्थानमा छन्।
मोरङ–५ मा रास्वपाकी आशा झा १० हजार १०८ मतसहित अग्रस्थानमा छिन्।
यहाँ जनता समाजवादी पार्टी नेपालका राजकुमार यादव ३ हजार ६८६ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेसका फुलकुमार लालवानी ३ हजार २०४ मतसहित तेस्रो स्थानमा छन्। एमालेका मनोजकुमार अग्रवाल २ हजार ९८२ मतसहित चौथो स्थानमा छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डल केवटले २ हजार ५२९ मत पाएका छन् भने राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका योगेन्द्र मण्डलले ६७० मत प्राप्त गरेका छन्। मण्डलले यसअघि यहाँ स्वतन्त्र उठेर जितेका थिए।
सबभन्दा धेरै ध्यान तानेको प्रतिस्पर्धा मोरङ–६ मा देखिएको छ। यहाँ रास्वपाकी रूबिना आचार्य ३२ हजार ५२५ मतसहित अत्यन्त ठूलो मतान्तरमा अग्रस्थानमा छन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कोइराला परिवारका सदस्य डा. शेखर कोइराला ८ हजार ६९ मतसहित दोस्रो स्थानमा छन्। एमालेका विनोद ढकाल ५ हजार ४८४ मतसहित तेस्रो स्थानमा छन्।